अर्थतन्त्र अहिलेकै बिग्रँदो अवस्थामा रहे नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति नहुनसक्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र र राजनीति अहिले जुन बिग्रँदो अवस्थामा अगाडि बढिरहेको छ, त्यही अवस्थामा अगाडि बढिरहे नेपाल निर्धारित समयमा अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रको पङ्तीमा स्तरोन्नति नहुने सम्भावना व्यक्त गर्नुभएको छ ।

पार्टीको केन्द्रीय अर्थ तथा योजना विभागद्वारा शुक्रबार पार्टी कार्यालय, च्यासल, ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले देशको बिग्रँदो अर्थतन्त्र, राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । देश विकास, गरिबी निवारण लगायतका कुरामा सरकारको ध्यानै छैन भने राष्ट्र कसरी अल्पविकसित मुलुकबाट विकासशीलमा स्तरोन्नति होला आशङ्का र चिन्ता व्यक्त गर्दै  अध्यक्ष ओलीले सैद्धान्तिक रूपमा मात्र पनि स्तरोन्नति हुँदा दुनियाँमा नेपाल र नेपालीको राष्ट्रिय आत्मविश्वास बढ्ने छ भन्नुभयो ।

अध्यक्ष ओलीले देशको अर्थतन्त्र बिग्रेर सबैभन्दा बढी राजस्व उठ्ने असार लगत्तैको साउन महिनामा सरकारले कर्मचारीलाई तलव ख्वाउन आन्तरिक ऋण उठाउने अवस्थामा पुगेको र अर्थतन्त्रलाई सकारात्मक र सही बाटोमा ल्याउने कुरा चिन्ताको विषय भएको वताउनुभयो ।

वर्तमान सरकारको ध्यान यसतर्फ नभई अपराधीलाई आममाफी दिने, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण गर्नेतिर रहेको उहाँको भनाइ छ ।
राष्ट्रपति रामचन्द्र पौडेल बुढेसकालमा पद पाएकोमा सरकारप्रति कृतज्ञ भएकाले अपराधीको सजाय मिनाहा गर्ने सरकारको निर्णय स्वीकार गरेको वताउँदै अध्यक्ष ओलीले भन्नुभयो– राष्ट्रपति महोदय बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञ हुनुहुन्छ । सरकारले जे लग्यो, त्यो बडो खुसीका साथ स्वीकार्नु हुन्छ ।
उहाँले सरकारको ध्यान शान्ति प्रक्रियालाई टुङ्ग्याउने भन्दा पनि हिंसालाई उत्सवको रूपमा मनाउनेतिर रहेको बताउनुभयो ।

शान्ति प्रक्रिया टुङ्ग्याउने विषय र हिंसा शुरू गरेको दिन (फागुन १ गते) राष्ट्रिय उत्सव मनाई उन्माद सिर्जना गर्ने कुराबीच तालमेल नहुने भन्दै अध्यक्ष ओलीले प्रश्न गर्नुभयोे–हिंसा पीडितमाथि अन्याय र अपमानले घोँचेर शान्ति प्रक्रिया टुङ्गो लाग्छ ?
फागुन १ गते जनयुद्ध शुरू गरेको दिनलाई उत्सवका रूपमा मनाउने काम नगर्न प्रधानमन्त्री ‘प्रचण्ड’लाई आफूले सुझाव दिए पनि अर्कोतिर साँठगाँठ भइसकेकाले आफ्नो सुझावप्रति उहाँले ध्यान नदिएको अध्यक्ष ओलीले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो– शेरबहादुरजीसँग कुरा भइसकेको रहेछ र प्रधानन्त्री प्रचण्ड हिंसा शुरू गरेको दिनलाई राष्ट्रिय उत्सवका रूपमा मनाउने अठोटमा पुगिसक्नुभएको रहेछ ।

अध्यक्ष ओलीले नेपाललाई सन् २०२६ सम्म अल्पविकसितबाट विकासशील राष्ट्रका रूपमा स्तरोन्नति र सन् २०३० सम्ममा दिगो विकास गन्तव्य हासिल गर्ने दिशामा अगाडि बढाउनुपर्नेमा वर्तमान सरकारको ध्यान अन्यत्र रहेको औल्याउनुभएको हो ।