जातीय विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुन्छः अध्यक्ष ओली

काठमाडौँ ! नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताएका छन्।

बिहीबार २९ औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

उनले नेपालीहरुका बीचमा जातका आधारमा आपसी विद्वेष र घृणा फैलिएमा देशको अस्तित्व समाप्त हुने बताए। उनले नेपालमा जातीय विविधता रहेको भन्दै सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुने उल्लेख गरे।

उनले पहिचानको मुद्दा देशको हितका लागि हुनुपर्नेमा जोड दिए। उनले पहिचानको मुद्दाले देशमा समस्या खडा गर्नु नहुने बताए।

उनले भने, ‘एउटा कुरा म साथीहरुलाई के भन्न चाहन्छु भने यदि कुनै पनि हिसाबले हामीलाई जातका आधारमा केहीका नाममा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर कसैले हामीबीचमा विद्धेष, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ। त्यतिबेला हाम्रो देश जोगिँदैन।’

अध्यक्ष ओलीले राज्य कुनै एउटा धर्म र जात विशेषको नभएको भन्दै त्यसकारण देशलाई धर्म निरपेक्ष बनाइएको बताए। उनले देशको नाम ‘नेपाल’ पनि कुनै जात विशेषको नभएको उल्लेख गर्दै प्रदेशहरुको नाम पनि साझा भुगोल, संस्कृति र नदीनालाको नामबाट राखिएको बताए।

उनले प्रदेशहरुको नामाकरण साझा रुपमा राखिएको भन्दै यसले कसैलाई अपमान, थिचोमिचो वा नहोच्याउने उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *