दशौंं महाधिवेशन पछि अध्यक्ष ओली झनै सक्रिय

काठमाडौं ! दसौं महाधिवेशनपछि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा लाग्नु भएको छ। दुई दिनअघि कपिलवस्तु पुग्नु भएका अध्यक्ष ओली दुई दिनपछि आज वीरगन्ज जाँदै हुनुहुन्छ।

पार्टीमा नेताभन्दा पनि कार्यकर्ता प्रवेश गराएर संगठन मजबुत बनाउने अभियानमा लागेको एमालेले देशभर नै पार्टी प्रवेशको कार्यक्रम बनाउन थालेको छ। ‘एमालेमा आउनेको लहर चलेको छ। अध्यक्ष कमरेड आज वीरगन्ज जाँदै हुनुहुन्छ। त्यसपछि १० गते झापा जाने कार्यक्रम छ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भन्नुभयो।

विधान महाधिवेशनपछि झापा पुगेर माओवादीसँग आबद्ध दुर्गा प्रसाईंलाई एमालेमा प्रवेश गराई केन्द्रीय सदस्यसमेत बनाएका ओली फेरि झापा जाँदै हुनुहुन्छ। पार्टी प्रवेशलगायतका कार्यक्रममा ओली आफैं सहभागी हुन रुचि राख्दै आउनु भएको छ। कांग्रेस महाधिवेशन सुरु भएको दिन प्रज्ञाभवनमा वाग्मती प्रदेशले आयोजना गरेको कार्यक्रममा पनि ओलीले माओवादीबाट आएका केही कार्यकर्तालाई प्रवेश गराउनु भएको थियो।

त्यस दिन सो कार्यक्रममा ओलीले देशको अभिभारा के हो भनेर कांग्रेसलाई सिकाउनुपर्ने बताउनु भएको थियो। ‘कांग्रेस, माओवादी र नेकपा एसको गठबन्धनलाई चुनौती दिदै ओलीले उनीहरूलाई नै प्रतिप्रश्न गर्दै एमालेमा थप क्षति हुन नदिने रणनीतिमा रहनु भएको छ’, एमालेका एक स्थायी कमिटी सदस्यले भन्नुभयो। एमाले विभाजनपछि नै ओलीले संगठनलाई चुस्तदुरुस्त राख्न नयाँ कार्यकर्ता भर्ती गर्नुपर्ने आवश्यकता महसुस गरेको एमाले नेताहरूको भनाइ छ।

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकको निर्णय नै देशभर पार्टी प्रवेशको लहर चलाउने रहेको आजको नागरिक दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *