राष्ट्रपति भण्डारीको कार्यकाल उत्कृष्ट : अध्यक्ष ओली

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीकाे कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताएका छन् ।

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुधबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुुनु सामान्य विषय नभएको बताए ।

 अध्यक्ष ओलीले भने, ‘आज महिला दिदीबहिनीहरुले गौरव गर्नुपर्दछ कि विद्या भण्डारीजस्तो महिला नेतृ, तपाईहरुको आन्दोलनबाट हुर्किएर गएको महिला नेतृले, त्यस आन्दोलनको उपजले त्यहाँ पुगेको व्यक्तिले देशलाई ७ वर्षसम्म राष्ट्र प्रमुखको हैसियत भोजपुरको एउटा गाउँमा जन्मिएर, गाउँको पाठशालाको शिक्षादिक्षाबाट आएर , त्यस्ता ठाउँबाट आएर संघर्ष गर्दै राष्ट्रपतिको जिम्मेवारी बहन गर्ने । र, त्यो जिम्मेवारी एकपटक मात्रै होइन । फेरि उहाँ जिद्धी गरेर यहाँ रहनै पर्छ भनेर होइन । अघिल्लो कार्यकालको उहाँको सफल, सही र उत्कृष्ट मर्यादित भूमिकालाई हेरेर दोश्रोपटक राष्ट्रपतिको जिम्मेवारी दिइएको हो ।’

उनले भने, ‘पहिलोपटक सम्पूर्ण निर्वाचन मण्डल बनिसकेको थिएन । प्रदेशसभाहरु गठन भइसकेका थिएनन् । राष्ट्रियसभा गठन भइसकेको थिएन । त्यस्तो अवस्थामा व्यवस्थापिका संसदले नै राष्ट्रपति चयन गर्नुपरेको थियो । त्यो काम देखिसकेपछि, निर्वाचन मण्डल बनिसकेपछि, प्रदेशसभाहरु बनिसकेपछि उहाँलाई सिंगै देशले एक कार्यकाल छोटो भएपनि त्यसको अनुभवलाई हेरेर उहाँलाई राष्ट्रपति बनाएको थियो । यो हामी नेपालीहरुका लागि गौरवको विषय हो । यस आन्दोलनको नेतृ नेपालको इतिहासमा प्रथम महिला राष्ट्रपतिको उपमा पाउनुभएको छ । र, उहाँले सफलतापूर्वक कार्यकाल सम्पन्न गर्नुभएको छ । तपाईहरुले उहाँहरुको राष्ट्रपतित्वको रुपमा महिला मुक्ति जो प्रकाशन गर्नुभएको छ । अत्यन्तै प्रशंसनीय काम हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *