भारतलाई मुस्ताङमा विश्वविद्यालय खोल्न दिनेकुरा देशको हितविरुद्ध : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा विश्वविद्यालय बनाउने कुरा राष्ट्रिय हितविरोधी काम भएको वताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय स्थापनाका नाममा नेपाललाई विदेशीको खेलमैदान बनाउन लागिएको वताउनुभयो ।
नेपालमा रहेको युरेनियममा विदेशीले आँखा लगाइरहेको वताउँदै अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय बहुतै खतरनाक कुरा हो भन्नुभयो ।
अध्यक्ष ओलीले वर्तमान सरकार विदेशी मालिक खुशी पार्न तल्लिन रहेको वताउँदै नेपाली नागरिकको भान्सा भान्सामा पुग्ने भारतीय तरकारीमा विषादी छ छैन जाँच गर्न नपर्ने निर्णय विदेशीलाई खुशी पार्ने योजना अन्तर्गत भएको स्पष्ट गर्नुभयो ।
अध्यक्ष ओलीले नेपालीलाई विषादीयुक्त तरकारी ख्वाउने यस निर्णयको विरोध गर्नुुपर्ने वताउनुभयो । देश र जनताको हित विरूद्धका काम गर्दै जान अहिले सरकारमा बस्नेहरूलाई लाजसरम नलाग्ने उहाँको भनाइ छ ।
आठ दलीय गठबन्धन भन्नेहरूको विचार, दृष्टिकोण र कहाँ जाने भन्ने नै नरहेको वताउँदै अध्यक्ष ओलीले परिवर्तन नचाहने प्रतिक्रियावादी शक्तिहरु यथास्थिति चाहन्छन् र राम्रो देखिन कपटी भाषा बोल्छन् भन्नुभयो ।
जनतालाई सही बाटोमा लाग्नबाट रोक्न उनीहरु जनतालाई भ्रममा पार्ने गरेको वताउँदै अध्यक्ष ओलीले यो राष्ट्रको रक्षा, विकास, सामाजिक न्यायसहितको लोकतन्त्र र सुशासनका निम्ति नेकपा (एमाले) मा सबै गोलबन्द भएर काम गर्नुपर्छ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *