देशहित विपरीत लाग्ने समुहबाट एमालेमाथि प्रहार भयो : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले देश र जनताका लागि राम्रो गर्न खोज्दा सबैतिर बाट  प्रहार गरिएको बताउनु भएको छ।

आज भक्तपुरमा भएको पार्टी निकट बुद्धिजीवी परिषद्को तेस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशका लागि एमालेले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार भएको भन्दै क्षुद्र स्वार्थमा अल्झिएकाहरूले नै सत्ता कब्जा गरेको बताउनु भएको हो ।

देशको अहितमा जनविरोधी र राष्ट्रघाती तत्त्वहरूको चर्को आवाज आउन थालेकाले त्यसबाट जनतालाई मुक्त गर्न सक्नुपर्ने बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘दुर्भाग्यको कुरा देशका लागि एमालेजस्तो पार्टीले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार हुन खोज्छ। किनभने सामाजिक रूपान्तरण परिवर्तनका विरोधी शक्तिहरू आफ्ना क्षुद्र स्वार्थमा अल्झिएका शक्तिहरू सत्ता कब्जा गर्न सफल छन् अहिले पनि ।’

अध्यक्ष ओलीले उनीहरू नै जनता अलमल्याउन र चटके कुरा गर्न सफल भएको भन्दै बौद्धिक जगत्ले दिग्भ्रमित पार्ने शक्तिहरूबाट जनतालाई मुक्त गर्न बिगुल फुक्ने काम गर्नुपर्ने बताउनुभयो । इतिहास निर्माणका प्रेरक शक्ति हिजो, आज र भोलि पनि जनता नै भएको भन्दै जनतालाई सही मार्गदर्शन गर्न सक्नु अहिलेको चुनौती रहेको ओलीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *