“केपी ओली विश्वकै उत्कृष्ट नेता हुनुहुन्छ”- पूर्वमन्त्री प्रभु साह

काठमाडौँ। नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले एमाले अध्यक्ष केपी ओली विश्वकै उत्कृष्ट नेता रहेको बताएका छन् ।
बिहीबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँगको भेटघाटको क्रममा प्रतिक्रिया दिदै नेता साहले सिंगो विश्वका सर्वहारा वर्गले केपी शर्मा ओलीमाथि गर्व गर्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री ओली राष्ट्रवादी, स्वाभिमानी एवम् दुरगामी सोच भएको नेता रहेको बताउदै साहले मुलुकलाई समृद्ध बनाउने मौलिक दिशा समेत ओलीसंग रहेको बताए । विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक रहेको चुनौतीपूर्ण अवस्थामा केपी ओलीले नेपालमा कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाई दिएको नेता साहको भनाई छ ।

“संसारका जुनसुकै देशका नेताहरुले आफ्नो मुलुकको स्वाधीनता एवम् राष्ट्रियताको रक्षा गर्न प्रतिबद्ध हुन्छ । तर नेपालको जुन प्रकारको भुगोल छ, हाम्रो देश दुई विशाल महाशक्ति राष्ट्रहरुको बीचमा अवस्थित छ । दुवै देशसहित विश्वभरको शक्ति सन्तुलन गर्दै आफ्नो मुलुकको राष्ट्रियता र स्वाभिमानको रक्षा गर्न उहाँले जुन प्रकारले सक्षमता देखाउनु भएको छ । दुनियाँको कुनै पनि देशमा यस्तो देखिएको छैन ।” नेता साहले भने, “उहाँकै नेतृत्व भएकोले मात्र वर्षोदेखि गुमेको नेपाली भुमीसहितको नेपालको नक्सा सार्वजनिक गर्दै हाम्रो भुभागलाई फिर्ता लिने कार्यको थालनी भएको हो । जो नेपालको इतिहासमा नयाँ हो ।”
“अहिले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा छ, विश्वका कम्युनिष्ट पार्टीहरु टुटफुट र विघटनको अवस्थामा छ तर नेपालमा केपी ओलीको नेतृत्वमा शान्तिपूर्ण ढंगले मतदानमार्फत कम्युनिष्टको प्रभाव बढदो छ । यसले विश्वभरको कम्युनिष्टहरुलाई पाठ सिक्न बाध्य बनाएको छ । आज हेर्नुहुन्छ भने उहाँले लामो समयदेखि गरिबी र पछौटेपनबाट ग्रसित नेपाललाई विकसित बनाउने एउटा नयाँ मोडल दिनुभएको छ । समृद्ध नेपाल सुखी नेपालीको महान राष्ट्रिय आकांक्षासहित उहाँले कम समयमा मुलुकको तीव्र विकास सम्भव छ भन्ने मोडालिटी दिनुभएको छ ।” नेता साहले भने, “सामाजिक न्याय सहितको समृद्धिको यो मोडल आजको समकालीन विश्व राजनीतिमा एकदम मौलिक, नयाँ र दुरगामी छ । यी सबै विषयहरुले उहाँको महानताको बयान गर्छ । केपी ओली वर्तमान समयमा विश्वको सबैभन्दा उत्कृष्ट नेता हुनुहुन्छ । सिंगो देश उहाँकै नेतृत्वमा अगाडि बढ्छ ।”
नेता साहले मुलुकमा समाजवादी शासन स्थापना गर्न समेत केपी ओलीको विकल्प नरहेको समेत बताए । ओली प्रधानमन्त्री हुँदा मुलुकलाई समृद्ध बनाउने दह्रो आधारशीला बसालिसकेकोले अब ओलीकै पालामा युगान्तकारी परिवर्तन हुने नेता साहको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *