देशका लागि योगदान गरौंः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकका लागि अहिले राष्ट्रिय एकताको आवश्यकता रहेको वताउँदै प्रतिनिधि सभाका सबै सांसदहरूलाई यसमा योगदान गर्न आग्रह गर्नुभएको छ ।
अध्यक्ष ओलीले प्रतिनिधि सभाको आजदेखि शुरू भएको अधिवेशनलाई सम्बोधन गर्दै कुर्सीका लागि सम्पूर्ण समय गोटी चालाचालमा खर्चने होइन, देशका लागि योगदान गरौं भन्नुभयो ।
सरकार गठन भई विश्वासको मत लिन समेत भ्याइनसक्दै सरकार ढाल्ने खेल शुरू गरिएको सन्दर्भलाई सङ्केत गर्दै  नेकपा (एमाले) संसदीय दलका नेता ओलीले सरकार बन्न पाएको छैन, विगार्न थालियो भने समयको बर्बादी हुने र मुलुकलाई विद्यमान समस्या समाधान गरी अगाडि बढाउन नसकिने वताउनुभयो ।
अध्यक्ष ओलीले देश विकास, जनताको सेवा, लोकतन्त्रको रक्षा र सामाजिक न्यायतर्फ केन्द्रित हुनुपर्ने वताउँदै त्यस दिशामा देशको राजनीतिलाई ठीक ढङ्गले अगाडि बढाउने अभिभारा यस सदनसमक्ष छ भन्नुभयो ।
सत्ता साझेदार दलद्वारा गठित उच्चस्तरीय संयन्त्रका संयोजक ओलीले सरकारको न्यूनतम साझा कार्यक्रम सहमतिका साथ अविलम्ब आउने जानकारी गराउनुभयो । अध्यक्ष ओलीले वर्तमान सरकारले लोकतन्त्र, मुलुकको समृद्धि, स्थायित्व, संविधानको रक्षा र राष्ट्रिय हितमा काम गर्ने वताउनुभयो ।
‘वर्तमान सत्ता समीकरण राष्ट्रियता, स्वाभिमान, राष्ट्रिय हितको पक्षमा उभिन्छ, नेपालीले यसो भन्न अफ्ठ्यारो मान्नुहुँदैन, भन्नैपर्छ,’ अध्यक्ष ओलीले प्रश्न गर्नुभयो– राष्ट्रिय हितको पक्षमा उभिन्छु भन्न नसक्नु, त्योभन्दा निरिहता के हुन्छ ?
प्रतिनिधि सभा विघटन गरी जनतामा जाने कुरा प्रतिगमन हुने हो भने संसदीय प्रणालीको जन्मदाता वेलायतमा प्रतिगमन नै प्रतिगमन भइरहेको मान्नुपर्ने चर्चा गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभा भङ्ग हुनु प्रतिगमन होइन भन्नुभयो ।
संसदबाट होइन, कुठाउँबाट सरकार बनाउने र ढाल्ने काम प्रतिगमन हो भन्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धन त्यस्तो कुबाटोमा नजाने स्पष्ट गर्नुभयो ।
वर्तमान सरकार प्रचारमुखी होइन, उपलब्धि हासिल गर्ने गरी काममा विश्वास गर्ने उहाँको भनाई थियो । अध्यक्ष ओलीले सुशासन र भ्रष्टाचार नियन्त्रणका विषयमा जनताले पत्याउने गरी शुन्य सहनशीलताको नीति अबलम्बन गर्नुपर्ने धारणा राख्नुभयो ।
मुलुक अहिले पनि आन्दोलनका असरबाट मुक्त भई नसकेको, द्वन्द्वपीडित, विभिन्न आन्दोलनका घाइते, अशक्त, असहाय, बेसहारा बालबालिकाका पक्षमा काम गर्नुपर्ने र देशको अर्थतन्त्र सुधार लगायत धेरै समस्या समाधान गर्नुपर्ने अवस्थामा सरकार रहेको उहाँले वताउनुभयो ।
आफ्नो नेतृत्वको सरकारको समयमा जनताका समस्यामा ध्यान दिने सन्दर्भमा चिसोको समयमा हिमाली क्षेत्रमा ज्याकेट र तराईमा कम्बल वितरण गरी विपन्न नागरिकको जीवन रक्षा गर्ने काम गरिएको स्मरण गर्दै अध्यक्ष ओलीले अहिले तराईमा चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएका समाचार आएका छन्, त्यसतर्फ सरकारको अविलम्ब ध्यान जानुपर्छ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *