गगन थापालाई एमाले अध्यक्ष ओलीको मुखभरीको जवाफ – ‘बाबु, भ्याकुम लिएर एमाले सिध्याउने रे ! सिंगै कांग्रेस कहाँ गयो ?’

काठमाडौ ! पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता गगनकुमार थापालाई जवाफ फर्काउनु भएको छ ।

बुधबार नेता थापाले आगामी निर्वाचनमा एमालेलाई भ्याकुम क्लिनरले सफा गरेझैँ बढार्ने भनेपछि त्यसको प्रतिवादमा उत्रदै अध्यक्ष ओलीले एमाले सिध्याउने होइन सिंगो कांग्रेस हेर्न भनेर जवाफ दिनुभएको छ ।

बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो, ‘हिजो हो कि कहिले एक जना बाबु यतै भक्तपुरतिर घुम्दै आएछन् । भ्याकुम क्लिनर लिएर आ’का रहेछन् । भ्याकुम क्लिनरबाट एमाले सिध्याउने रे ! (हाँस्दै) विचरा ! एमाले सिध्याउने भ्याकुम क्लिनर रे ! सिंगै कांग्रेस कहाँ गयो भ्याकुम क्लिनरले एमाले सिध्याउने सपना तिनरका । म त्यसमा केहीँ भनिरहन चाहन्न ।’
त्यसपछि ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि प्रहार गर्नुभयो । ओलीले प्रचण्डलाई देश कुरुक्षेत्र होइन अब धर्म, शान्ति र विकासको क्षेत्र बन्ने बताउनु भएको छ ।

केही दिनअघि चितवनमा पनि ओलीले उक्त कुरा भन्नुभएको थियो र आज पनि उहाले त्यहीँ दोहोर्याउँदै कुरुक्षेत्रको सपना नदेख्न चेतावनी दिनुभयो ।

‘एकजनाले अस्ति भने कुरुक्षेत्र बन्छ अब । कुरुक्षेत्र बनाएको पनि देखियो । कुरुक्षेत्र सबै ठेगान पनि लगाइयो । अब कसैले कुरुक्षेत्रका धाक नलगाए हुन्छ यो नेपाल नै अब धर्म क्षेत्र हुन्छ । यो विकास क्षेत्र हुन्छ । यो शान्ति क्षेत्र हुन्छ । यो जनताको समृद्धिको क्षेत्र हुन्छ । समृद्ध नेपाल, सुखी नेपाली भएको क्षेत्र हुन्छ नेपाल । के को कुरु क्षेत्र ?,’ उहाले भन्नुभयो, ‘कुरुक्षेत्र बनाउने भनेर कस्लाई धाक देखाएको, तर्साएको अहिले ? हामीले कुरुक्षेत्र बनाएको हेर्यौँ, १७ हजार मान्छे मारेको हेर्यौँ । ढुंगाका पासामा मान्छेको हड्डी फोडेको पनि हेर्यौँ ।काठ घोट्ने बर्माले मान्छेका शरीरमा घोपेको पनि हामीले देख्यौँ । ती सबै अत्याचारहरु पराजित गरेर आएका छौँ । त्यसकारण हामीलाई कसैले कुरुक्षेत्रको धाक कसैले नलगाए हुन्छ । हामी त्यस्ता कुराको वास्ता गर्दैनौँ, देश बनाउने कुरासँग सरोकार छ ।’
अध्यक्ष प्रचण्डभन्दा आफूले पहिले गणतन्त्रको जग बसाएको पनि अध्यक्ष ओलीको दाबी छ ।

ओलीका अनुसार प्रचण्डले गणतन्त्र भनेर भन्नुभन्दा २५ वर्षअगाडि एमालेले गणतन्त्रको अभियान थालिसकेको थियो ।
‘अस्ति कीर्तिपुरमा गएर एकजना निक्कै मनस्थिती डगमगाएको देखिन्थ्यो । केपी ओलीले गणतन्त्र कहिल्यै मन पराएन भनेर । पुष्पकमल दाहालले गणतन्त्र भनेर भन्नुभन्दा २५ वर्षअगाडि हामीले गणतन्त्रको अभियान थालिसकेका थियौँ । २२ वर्षअगाडि प्रचण्डले गणतन्त्रका कुरा गर्नुभन्दा अगाडि गणतन्त्रको अभियान लिएर आन्दोलन लिएर म जेलमा परेको थिए,’ ओलीले भन्नुभयो, ‘प्रचण्डले ती कुरा भन्दा मतदानको अभिमतबाट बामपन्थीको सरकार बनाइसकेका थियौँ । ज्येष्ठ भत्ता कसरी ? सामाजिक सुरक्षा कसरी हुन सक्छ ? आधुनिक संसारमा लोककल्याणकारी कसरी हुन्छ त्यो देखाएका थियौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *