प्रचण्डलाई एमाले अध्यक्ष ओलीको जवाफ: चितवन कुरुक्षेत्र होइन, धर्मक्षेत्र बन्छ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवनलाई कुरुक्षेत्र नभइ धार्मिक क्षेत्र बनाउने बताउनु भएको छ । मंगलबार चितवनको माडीमा आयोजित एमालेको कार्यक्रममा ओलीले चितवनलाई किन कुरुक्षेत्र बनाउनु पर्‍यो ? भन्दै प्रश्न गर्नुभयो।

केही दिनअघि चितवन पुग्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन आगामी चुनावमा कुरुक्षेत्र बन्ने बताउनु भएको थियो। ‘कुरुक्षेत्र किन बनाउने ?,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रचण्डले पहिलेकै बैस सम्झेर कुरुक्षेत्र बनाउने भनेका होलान् । अब कुरुक्षेत्र होइन, यहाँ धर्मक्षेत्र हुन्छ । विकास, शान्ति र एकताको क्षेत्र हुन्छ ।’

अध्यक्ष ओलीले जसले युद्ध चाहन्छ त्यसले हार्ने बताउनु भयो । ‘कुरुक्षेत्रै बनाउन खोजेको हो भने म भन्न चाहन्छु, कौरवहरूले जितेका थिएनन्, पाण्डवहरूले जितेका थिए। जसले युद्ध खोज्छ उसले हार्छ,’ उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले आफूलाई विकाससँग चासो भएको बताउनु भयो। ‘कसैले भन्लान् राजनीति गर्ने मान्छे, भौतिकवादी, मार्क्सवाद मान्ने मान्छे,’ उहाँले भन्नुभयो, ‘इतिहासको कुरा छ । इतिहास पहिल्याउने कुरा छ । हामीले यथार्थ इतिहास उत्खनन् गरेका छौं । यो कसैको विरुद्ध होइन, सत्य पहिल्याउने मात्रै हो ।’ अध्यक्ष ओलीले अब माडी क्षेत्रमा पर्यटक बढ्ने समेत बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *