एमाले अध्यक्ष ओलीको मतादातालाई आग्रह– समृद्ध नेपाल बनाउने यात्रामा सहयोग गर्नुहोस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा एमालेलाई बहुमतका साथ विजयी बनाई समृद्ध नेपाल निर्माण गर्ने दिशामा सहयोग गर्न आम मतदातालाई आग्रह गर्नुभएको छ ।
अध्यक्ष ओलीले आज सुुनसरीमा आयोजित चुनावी आमसभालाई सम्वोधन गर्दै देश बनाउन राष्ट्रिय शक्तिको आवश्यकता रहेको र त्यो एमालेले मात्र पूरा गर्ने वताउनुभयो ।
अध्यक्ष ओलीले स्वार्थीहरुको झुण्ड जोडेर राष्ट्रिय शक्ति बन्दैन भन्दै राष्ट्रिय हित, देशको विकास, सुशासन र समृद्ध नेपाल बनाउने यात्रामा मद्दत गर्न एमालेलाई विजयी बनाउन आग्रह गर्नुभयो ।
उहाँले एमालेले सामाजिक जीवनका हरेक क्षेत्र, विभिन्न पेशा, व्यवसाय, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, बन्दीहरू सबैको पक्ष र हितमा काम गरेको विगत स्मरण गर्नुभयो ।
२०५१ सालमा आफू गृहमन्त्री रहेको समयमा प्रहरी सेवामा श्रेणीमा लैजाने व्यवस्था गरेको, नेपाली सेनामा प्रतिरक्षा विश्वविद्यालय स्थापना र सेनालाई बङ्करबाट व्यारेकमा ल्याउने काम गरेको स्मरण गर्दै उहाँले मंसिर ४ को निर्वाचनमा समानुपातिकतर्फ एमालेको पक्षमा मतदान गरी समृद्ध नेपालको गन्तव्यमा पुग्ने यात्रामा सहयोग गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले सुनसरी निर्वाचन क्षेत्र नं.३ मा एमालेले कर्मठ महिला भगवती चौधरीलाई उम्मेदवार बनाएको वताउँदै उहाँलाई अत्यधिक बहुमतका साथ विजयी बनाउन आग्रह गर्नुभयो ।
विगत निर्वाचनहरुमा जितेर पनि धाँधली गरी हराइएकी चौधरी गरिव जनताका लागि रोजगारी दिने विकासप्रेमी, जनप्रेमी नेतृ भएको बताउनुभयो ।
मतपेटिका फेरेर धाँधली गरी विजयी भएका सुनसरी क्षेत्र नं. ३ का जनप्रतिनिधि भ्रष्टाचार मुद्दाका कारण अहिले लुक्दै र भाग्दै हिड्ने गरेको चर्चा गर्दै अध्यक्ष ओलीले सुनसरीका जनताले विजय गच्छदारलाई फेरि निर्वाचित गरेर पठाए उनी संसद पस्न पनि नपाउने र शपथ पनि नहुने अवस्थाका बारेमा मतदातालाई जानकारी गराउनुभयो ।
अध्यक्ष ओलीले विगतमा विपक्षीले मतपेटिका फेरेर धाँधली गरेको घटनाबाट शिक्षा लिई आसन्न निर्वाचनमा कुनै पनि प्रकारका धाँधली हुनबाट रोक्न चनाखो र सतर्क रहन कार्यकर्तालाई निर्देशन दिनुभयो ।
प्रहरी प्रशासनलाई पनि निर्वाचन शान्तिपूर्ण र निष्पक्ष सम्पन्न गर्न भूमिका निर्वाह गर्न आग्रह गर्दै उहाँले देशमा शान्ति सुव्यस्थाको अभिभारा बोकेको प्रहरी प्रशासनले देश, जनता र लोकतन्त्रविरुद्ध गठबन्धन सरकारले दिने आदेश पालना गर्नुहुँदैन भन्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– प्रहरी प्रशासन गठबन्धनको नोकरचाकर होइन, राष्ट्रको सेवक हो, शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराउने काममा भूमिका निर्वाह गर्नु उसको दायित्व हो ।
यतिवेला ललिता निवास काण्ड गर्नेहरु निर्वाचनपछि एमालेको सरकार बने आफूहरुले देश छोड्नपर्छ भन्दै आत्तिएका र छटपटाइरहेका छन् भन्दै  उहाँले भन्नुभयो– गल्ती गरेको छैन भने नडराउनुस् । गल्ती गर्नुभएको छ भने राज्यका निकायहरु छन् तिनले कारवाही गर्ने हो मैलै होइन ।
आसन्न निर्वाचनमा विभिन्न जिल्लाका केही स्थानमा जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एमालेले चुनावी तालमेल गरेको र सुनसरीमा पनि त्यस्तो तालमेल रहेको चर्चा गर्दै अध्यक्ष ओलीले सुनसरीको क्षेत्र नं. १ मा जसपाका उम्मेदवारलाई आफ्नै पार्टीको उम्मेदवार ठानेर मतदान गर्न पार्टीका कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले सुनसरीका बाँकी २,३ र ४ नम्बर क्षेत्रमा जसपाका कार्यकर्ताले त्यसरी नै एमालेका उम्मेदवारहरुलाई मतदान गर्नेछन् भन्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *