नेपाललाई शिक्षाको हब वनाउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले  शिक्षा क्षेत्रको विकासका लागि नेकपा (एमाले) गम्भीर रहेको र पार्टीको निर्वाचन घोषणापत्रमा  शिक्षा क्षेत्रको विकासका केही ‘ग्लिम्प्स’  (झलक)  आउने वताउनुभएको छ ।
अध्यक्ष ओलीले शुक्रबार साँझ शिक्षाविद् तथा शिक्षा क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, शिक्षानुुरागीहरूसँगको अन्तक्रियामा नेपाललाई शिक्षाको हब बनाउन सकिने वताउनुभएको छ ।
उहाँले देशको विकासका लागि हामीलाई कस्तो जनशक्ति कति आवश्यक पर्छ भन्ने प्रोफाइल तयार गरी योजनाबद्धरूपमा शिक्षाको विकासमा लाग्नुपर्छ भन्ने धारणा आफ्नो रहेको वताउनुभयो ।
अध्यक्ष ओलीले आफ्नो सोच शिक्षा क्षेत्रमा बालबालिकाको रुचि, क्षमता पत्ता लगाई त्यस अनुसार गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्छ भन्ने रहेको र त्यसका लागि ‘चिल्ड्रेन प्यालेस’ खोल्ने र त्यहाँ  बालबालिकालाई विभिन्न सुविधा उपलब्ध गराउने, उत्कृष्टतम शिक्षकहरू राखेर  बालबालिकाको क्षमता र रुचि छुट्याउने योजना रहेको वताउनुभयो ।
अध्यक्ष ओलीले शिक्षा क्षेत्रको विकासमा राज्यले आफ्नो उत्तरदायित्व बहन गर्नुपर्ने वताउँदै स्वदेशमै गुणस्तरीय शिक्षा उपलब्ध गराउँदा हाम्रा बालबालिका अध्ययनका नाममा अमेरिका, क्यानडा जाने वर्तमान अवस्थाको अन्त्य हुने छ भन्नुभयो ।
देशमा गुणस्तरीय शिक्षाको व्यवस्था गर्नु सबैको साझा कर्तव्य भएको वताउँदै अध्यक्ष ओलीले भन्नुभयो– ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर रहेको र त्यसमा सुधार आवश्यक रहेको छ ।’
अध्यक्ष ओलीले गुणस्तरीय शिक्षाका नाममा शिक्षा नियोजित गर्ने काम भएको  र प्राविधिक शिक्षा सञ्चालन गर्नै नदिने प्रवृत्ति देखिएको वताउनुभयो । नेपालमा शिक्षा क्षेत्रको विकास योजना बनाएर गर्नुपर्नेमा त्यसो नगरी शिक्षाको बन्ध्याकरण गरिएको उहाँको भनाई थियो ।

आफ्नो प्रयास नेपाललाई स्वास्थ्य शिक्षा, आयुर्वेद, योग, इन्जिनियरिङ शिक्षाको हब बनाउन सकिन्छ भन्ने रहेको अध्यक्ष ओलीले स्पष्ट गर्नुभयो ।
उहाँले शासकीय अयोग्यता, स्वार्थ र संकीर्णताका कारण मुलुक शिक्षामा अलिकति पछाडि परेको वताउनुभयो ।
त्रिभुवन विश्वविद्याल छमहिनादेखि तालाबन्दी अवस्थामा रहेको, ताला लगाउने, शिक्षकलाई मरणासन्न हुनेगरी कुट्नेलाई राज्यको संरक्षण रहने र ताला खोल्नेलाई प्रहरी प्रशासनले लखेट्ने वर्तमान यथार्थ प्रस्तुत गर्दै यो राष्ट्रिय समस्याको अन्त्य गरी शिक्षा क्षेत्रलाई शान्ति क्षेत्र बनाउनुुपर्ने विचार अध्यक्ष ओलीले व्यक्त गर्नुभयो ।
धन्वन्तरी, आर्यभट्ट, कौटिल्य (चाणक्य), चरकका शैक्षिक अन्वेषणको चर्चा गर्दै अध्यक्ष ओलीले शिक्षा र ज्ञानको प्रादुर्भाव भएको भूमी नेपालमा हाम्रा बालबालिकाले शिक्षाको अवसर पाउने वित्तिकै दुनियाँका कसैले पनि प्रतिस्पर्धा गर्न नसक्ने जनशक्ति उत्पादन गर्न सकिन्छ भन्नुभयो ।
हाम्रो परम्परागत शिक्षामा सीप सिकाउने कुरामा कमी रहेको चर्चा गर्दै अध्यक्ष ओलीले आउँदो पुस्तालाई ज्ञान, सीप र गुणको हिसावले अत्यन्त उन्नत बनाउनुपर्ने धारणा राख्नुभयो ।
शिक्षा क्षेत्रसँग केपी ओली नाम दिइएको शिक्षा सम्वाद कार्यक्रममा शिक्षाविद्, प्याप्सन, एनप्याप्सन, हिसान लगायत शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिहरूले आ– आफ्ना जिज्ञासा, सुझाव र धारणा राख्नुभएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *