एमालेले जनताको साथ र आफ्नै बलवुतामा निर्वाचनमा प्रतिस्पर्धा गर्छ : अध्यक्ष ओली

काठमाडौं ! धनुषामा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र लोेकतान्त्रिक समाजवादी पार्टीका नेताहरू आफ्ना करिव दुईहजार कार्यकर्ता, समर्थकसहित नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
नेकपा (एमाले) धनुषा जिल्ला कमिटीद्वारा आज तिरहुतिया गाछीमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्नुभयो ।

एमाले प्रवेश गर्नेहरूमा जसपाका मधेस प्रदेससभा सदस्य अन्जु कुमारी यादव, लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य  अरबिन्द साह, नेपाली काँग्रेस धनुषाका युवा नेता सन्तोष यादव लगायत स्थानीय नेताकार्यकर्ताहरू रहेका छन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा नेकपा (एमाले) जनताको साथ लिएर आफ्नै बलवुतामा प्रतिस्पर्धा गर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले मंसिर ४ गते हुने निर्वाचनले देशको भाग्य र भविष्यको फैसला गर्ने भएकाले विचार पुर्याएर मतदान गर्न सबैमा आग्रह गर्नुभयो ।
उहाँले लोकतन्त्रको रक्षा र देशमा विकासको अभियान चलाउनका लागि एमालेलाई जिताउन जनतासँग आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले नागरिकताको सवालमा अन्य दलहरूले एमालेविरुद्ध भ्रम छर्न खोजेको भन्दै एमाले जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने पक्षमा रहेको बताउनुभयो ।
उहाँले नेपाली काँग्रेस र माओवादी केन्द्रले भ्रमको राजनीति गरिरहेको भन्दै अध्यक्ष ओलीले नेकपा एमाले त्यस्तो खेती नगरी जनतालाई सचेत र संगठित बनाएर अघि बढ्न चाहन्छ भन्नुभयो ।
नागरिकताको समस्या गम्भीर रहे पनि गठबन्धन सरकारले समस्या समाधानतर्फ ध्यान नदिई गलत मुद्दा उठान गरेको कारण सफल हुन नसकेको बताउनुभयो ।
उहाँले जनकपुरधाम एउटा पवित्र भूमि भएको र यहाँ चार हजार बर्ष अगाडि विभिन्न खालका शास्त्रार्थ र दर्शन बारेमा छलफल हुने गरेको भए पनि यहाँको अवस्था दयनीय भएको भन्दै यस्तो किन भएको भन्ने विषयको खोजी गर्न जनतालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका सचिव एवम मधेश प्रदेशका ईन्चार्ज रघुवीर महासेठले विरोधीहरूले एमालेको विरुद्धमा भ्रम फैलाई राखेकाले त्यसलाई चिर्न नेताकार्यकर्तालाई आग्रह गर्नुभयो ।
एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा एमालेका स्थायी कमिटीका सदस्य अग्नि खरेल, पोलिटब्युरो सदस्य जुली महतो लगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

अध्यक्ष ओलीले आजै नेपाल बुद्धिजीवी परिषद मधेस प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने उद्देश्य पूरा गर्नका लागि आगामी निर्वाचनपछि एमाले नेतृत्वको सरकार बन्नुपर्ने बताउनुभयो ।
‘मंसिर ४ गतेको निर्वाचनबाट एमालेको सरकार गठन गर्नु अनिवार्य छ,’ उहाँले भन्नुभयो– ‘पछिल्ला १४ महिनामा गठबन्धन सरकारले देशलाई अधोगतितिर लगिरहेको र अब पनि यही गठबन्धनले सरकार गठन गर्ने अवस्था आएमा देश बर्बादीतर्फ जान्छ ।’
अध्यक्ष ओलीले आगामी निर्वाचनले देश, लोकतन्त्र, विकासप्रति समर्पित सरकार दिन सक्नुपर्ने वताउनुभयो । उहाँले पाँच दलीय गठबन्धन देश र जनताका लागि नभएर तिनै दलका नेताहरूको स्वार्थमा केन्द्रित रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *