देउवाले श्रीमती र सालाहरू अगाडि सारेर देशमा भ्रष्टाचार बढाए : अध्यक्ष ओली

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती र सालाहरू अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले आफन्तमार्फत देशलाई दुःख दिएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरीलाई मेयर बनाउन मरिहत्ते गरेकै कारण केहीले राजनीतिलाई घृणा गरेको जिकिरसमेत गर्नुभयो ।

आज मङ्गलवार काठमाण्डाैमा आयोजित ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले व्यापारीका प्रतिनिधिलाई ल्याएर करको दर हेरफेर गरेपछि राजनीतिमा घृणाभाव जागृत भएको तर्कसमेत गर्नुभयो । अध्यक्ष ओलीले सत्तारूढ दलका नेताहरूले राजनीति नगरेको उल्लेख गर्दै त्यसकाविरुद्ध लड्न पनि सबैलाई आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिकाे नाममा छोरीलाई मेयर बनाउन मरिहत्ते, मारामार छ । म यो पनि बेचिदिन्छु, त्यो पनि बेचिदिन्छु, जे पनि गरिदिन्छु, छोरीलाई मेयर बनाएर छोड्छु भन्ने छ । यस्तो पोलिटिक्स गर्नुभयो भने पोलिटिक्स हुँदैन । त्यो स्वार्थ हो । स्वार्थ र राजनीति भनेको फरक कुरा हो । राजनीतिको नाममा त्यो विकृति हो । आफन्त लगाएर भ्रष्टाचार गर्ने अनि यस्तै हो पोलिटिक्स भन्ने, पोलिटिक्स त्यस्तो हुन्छ ? श्रीमती, सालाहरू अगाडि सारेर भ्रष्टाचार गरेर, देशलाई दुःख दिएर त्यस्तै हुन्छ पोलिटिक्स ? अब गलत पोलिटिक्स गर्‍याे भने त्यो दृष्टान्त देखेपछि मान्छेले डट्टी पोलिटिक्छ भन्न थाल्छ । व्यापारीका प्रतिनिधि ल्याएर करको दर तोक्यो, सिसीटिभी कर्‍यापकुरुप पारेर तार चुँडाएर आयो । अनि केही पनि भेटिएन भन्यो । यस्तो ढाँट पनि हुन्छ राजनीति ? अब यही देखेपछि अनि कतिपयले भन्छन्– आई हेट पोलिटिक्स । यो पोलिटिक्स होइन । यसका विरुद्ध तपाईँ, हामी उठ्नुपर्छ । पोलिटिक्सलाई स्वच्छ, सफा बनाउनुपर्छ ।’

अध्यक्ष ओलीले राजनीतिमा एकथोपा पनि पसिना नबगाएकाहरूले यसलाई मनाेरञ्जन गर्ने माध्यमको रूपमा लिएको टिप्पणीसमेत गर्नुभयो । स्वतन्त्रको पहिचान बनाएर राजनीतिमा सहभागी भइरहेकाहरूप्रति सङ्केत गर्दै उहाँले राजनीतिलाई उनीहरूले रमाइलो गर्ने माध्यमको रूपमा लिए पनि त्यस्तो नभएको बताउनुभयो ।

कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले राजनीतिमा सहभागी भएर असाधारण योगदान गरिरहेको भन्दै महिलाहरूको प्रशंसा पनि गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *