देश र जनताका लागि जीवन समर्पित गरेको छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारसँग कटाक्ष गर्ने रूचि आफूलाई नभएको तर सेटिङमा बजेट निर्माण जस्ता राष्ट्रघाती काम हुँदा मन पोल्ने वताउनुभएको छ ।
आइतवार ‘युवासँग केपी ओली’ कार्यक्रममा युवाका जिज्ञासामा केन्द्रित भएर सम्बोधन गर्दै अध्यक्ष ओलीले सेटिङमा बजेट बनाई नपाउनुपर्नेले करमा कटौती गरी सुुविधा पाएको  र जनताले नपाएको वताउनुभयो ।
आफू प्रधानमन्त्री हुँदा देशको विकास निर्माणका लागि पैसाको कुनै कमी नभएको चर्चा गर्दै अध्यक्ष ओलीले ‘वर्तमान गठबन्धन सरकार बनेको एकबर्षभित्र कहाँबाट के अलच्छिन पस्यो, पैसा जति हरायो’ भन्नुभयो ।
आफू प्रधानमन्त्री हुँदा हुलाकी राजमार्ग, धरहरा, रानीपोखरी, दरबार हाइस्कुल, आर्मी हेडक्वाटर बनेको र ३९६ वटा अस्पताल एकै दिन  शिलान्यास गरेको उहाँले बताउनुभयो ।
‘अहिले विकास गर्न पैसा छैन । बाटो बनाउने, पुल बनाउने पैसा छैन । ठेकेदारलाई भुक्तानी दिने पैसा छैन । पैसा जान्छ कहाँ ? पैसा कहाँ गयो र अलच्छिन कहाँबाट पस्यो ?’
आफू प्रधानमन्त्री छँदा भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न अभियान चलाएको तर भ्रष्टाचारीहरूले सबै उस्तै हुन् भन्ने गरेकोमा असन्तुष्टी जनाउँदै अध्यक्ष ओलीले भन्नुभयो– ‘मैले आफू वस्ने गरेको घरजग्गा राज्यका नाममा पास गरिदिएको छु । आफ्नो औषधि उपचार गर्न खर्च चाहिए पनि बेच्न नपाउने गरी राज्यलाई दान गरेको छु, म आफूलाई चाहिएको छैन भने मैले अरूका लागि भ्रष्टाचार गर्दिन्छु ?

उहाँले भन्नुभयो– म जति बाँच्छु, देश र जनताका लागि जीवन समर्पित गर्छु, यो मेरा अठोट छ ।
अध्यक्ष ओलीले देशमा स्वच्छ सरकार होस्, हरेक नेता इमान्दार र त्यागी होउन्, कोही आडम्बरी नहोस् भन्ने आफ्नो चाहना रहेको वताउनुभयो ।
अध्यक्ष ओलीले युवाका विभिन्न जिज्ञासाको जवाफ दिँदै देशमा राजनीतिक परिवर्तनसँगै सामाजिक, आर्थिक परिवर्तन भएको चर्चा गर्नुभयो ।
राजनीतिक दलहरूमा युवालाई उपेक्षा गरिएको युवाको भनाईमा असहमति जनाउँदै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको मन्त्रिपरिषद्मा धेरै युवा उमेर समूहका मन्त्री रहेको र अहिले पनि टाढा जानुपर्दैन, काठमाडौैं महानगरपालिकाको उपमेयरमा पार्टीले युवालाई अवसर दिएको देख्न सक्नुहुन्छ भन्नुभयो ।
नेताहरूले नातावाद, कृपावादका रूपमा आफन्तलाई अवसर दिने गरेको युवाको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ओलीले भन्नुभयो– ‘मेरो भाइ छ झापामा । दश कठ्ठा जग्गामा खेती गरेर बसेको छ । पार्टीमा भद्रपुर नगरपालिका वडा कमिटीमा छ ।  उसलाई मैले केही गरेको सुन्नुभएको, देख्नुभएको छ ? त्यसैले एमालेको नेतृत्व  अरू जस्तो आफन्तका लागि मरिहत्ते गर्ने होइन ।’

देशको युवा शक्ति रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाका बारेमा युवाले राखेको जिज्ञासामा माओवादी हिंसाका कारण गाउँदेखि विस्थापित भई शहर र शहरमा पनि बस्न नसकेपछि  वैदेशिक रोजगारीमा जान शुरू भएको चर्चा गर्दै अध्यक्षले भन्नुभयो–  यस सिलसिलालाई देशमै रोजगारी सिर्जना गरेर र उद्यमशीलता सिर्जना गरेर रोक्न सक्छौं ।
उहाँले रेमिटेन्समा भरपर्ने अर्थतन्त्र अत्यन्त कमजोर हुन्छ, हामी आत्मनिर्भर अर्थतन्त्र चाहन्छौं भन्नुभयो ।
अध्यक्ष ओलीले सबै मिलेर देश बनाउनुपर्ने भन्दै युवा भाइवहिनीहरूलाई महान् चिन्तक, कर्मयोगी र अनुशरणीय, हरेक क्षेत्रमा निष्ठावान् र कर्मठ व्यक्तित्व बनाउन सक्नुहोस् भनी शुभकामना दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *