नेकपा एमालेले मात्र देशलाई निकास दिन्छ : अध्यक्ष ओली

काठमाडौं  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेले मात्र देशलाई निकास दिने बताउनु भएको छ। रौतहट जिल्लाको सदरमुकाम गौरमा नेकपा एमाले रौतहट जिल्ला कमिटीद्वारा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रम तथा आमसभालाई हिजो सोमबार सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकार भ्रष्टाचारमा चुलुर्म डुबेर देश डुबाउन लागेको आरोप लगाउनु भयो।

उहाँले अहिलेको गठबन्धन सरकार देश लुट्नकै लागि बनेको दावी गर्दै गठबन्धन मंसिर ४ गते नेपाली जनताले मतदानद्वारा पखाल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले आफ्नो नेतृत्वमा रहेको सरकारले देशमा धेरै विकासको आयोजना सुरू गरेको तर गठबन्धन सरकार बन्ने बित्तिकै ती आयोजनाहरु रोकेर देश बिरोधी काम गरेको दावी गर्नुभयो ।

‘गठबन्धन सरकारले मेरो नेतृत्वको सरकारले गरेको विकास निर्माणका कामहरु रोकेर जनविरोधी, विकास विरोधी कार्य गरेको छ’ उहाँले भन्नुभयो ‘मंसिर ४ को निर्वाचनमा नेपाली जनताले गठबन्धनलाई पाखा लगाएर नेकपा एमालेलाई सरकारमा पुर्याउनेछन् ।’ अर्को एक प्रसङ्गमा उहाँले माधव नेपालले प्रधानमन्त्री हुँदा विकासको नाममा सिन्को समेत नभाचेको उल्लेख गर्दै आफ्नो नेतृत्वको सरकारले अरु सरकारले २०-३० वर्षमा गर्न नसकेको काम ३ वर्षमानै गरेको उल्लेख गर्नुभयो। उहाँले आफु प्रधानमन्त्री हुँदा भारतसँग कुरा गरी नेपालको डुबानको निकासको लागि पहल गरेपनि अहिलेको सरकार मुकदर्शक बनेको बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *