कुकर्ममा लागेको गठबन्धनलाई पराजित नगरे लोकतन्त्र ध्वस्त हुन्छ : अध्यक्ष ओली

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यतिबेला सिङ्गो पार्टीपङ्तीका सम्पूर्ण क्रियाकलाप महासङ्ग्रामका रूपमा अगाडि आएको निर्वाचन केन्द्रित हुनुपर्ने वताउनुभएको छ ।
नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेले हारे देशले हार्ने हुँदा आगामी निर्वाचन एमालेले जित्नैपर्ने वताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– ‘अदालतले समेत संविधान नबुझेकाले संविधानका त्रुटीहरू सच्याउन हामीलाई दुईतिहाई चाहिन्छ तर अहिले हामीले दुईतिहाई प्राप्त गर्ने सम्भावना छैन । इमान्दार र संगठित ढङ्गले लाग्दा बहुमत प्राप्त गर्न सकिन्छ ।’
‘अरू दलसँग मिलेर सरकार बनाउँदा कम्युनिष्ट सरकार टिक्न नदिने भएकाले एकल बहुमतको सरकार गठन गर्ने अवस्थामा पुग्नुपर्छ,’ अध्यक्षले भन्नुभयो–‘यसो भयो भने स्थानीय तहको क्षति पनि पूर्ति हुन्छ
।’
अध्यक्ष ओलीले वर्तमान परमादेशी गठबन्धनको सत्ता र स्वार्थ बाहेक कुनै गन्तव्य नरहेको, जस्तासुकै कुकर्म गर्न तयार रहेको र गलत उद्देश्यका लागि राज्य संयन्त्रको चरम दुरूपयोग गरिरहेको वताउनुभयो । उहाँले भन्नुभयो– ‘२००७ सालपछि कानुनको राज्य सञ्चालन मान्दा त्यसयता सबैभन्दा बढी राज्य संयन्त्रको दुरूपयोग अहिले परमादेशी गठबन्धनले गरिरहेको छ ।’
‘बहुमतका नाममा हामीले जे पनि गर्नसक्छौं भन्ने अहङ्कारी गठबन्धनलाई पराजित गरेनौं र अझ पाँच बर्ष यसरी नै चल्यो भने नेपालमा लोकतन्त्र ध्वस्त हुन्छ, त्यस्तो अवस्थामा हाम्रो जस्तो भूराजनीति भएको मुलुक विदेशीको अस्वस्थ क्रिडास्थल बन्नसक्छ,’ चर्चा गर्दै अध्यक्षले भन्नुभयो– त्यसैले आगामी निर्वाचन एमालेले हार्न मिल्दैन । देशको हित र रक्षाका दृष्टिकोटले आगामी निर्वाचन महासङ्गाम हो । देशको रक्षाका लागि एमालेले जित्नुपर्छ । त्यसका लागि हामी गम्भीर हुनपर्छ र योजनाबद्ध ढङ्गले लाग्नुपर्छ, लाग्छौं ।
नेकपा (एमाले) को जम्मा जम्मी उद्देश्य देश बनाउने हो, विश्वमा गर्व गर्न लायक देश बनाउने हो भन्ने कुरा जनतामा पुर्याउन कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष ओलीले भन्नुभयो– ‘काँग्रेस, माओवादीभित्र पनि तिनका नेताका स्वार्थमा रमाउने मात्र छैनन्, देश बनाउने चाहना बोकेका, लोकतन्त्रप्रति समर्पित मानिस पनि छन् तिनीहरूलाई हाम्रो यात्रामा सहयोग पुर्याउन भन्नुपर्छ ।’
‘हामीले तय गरेको गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अभियान अगाडि बढाउन निर्वाचन जित्नुपर्छ, हाम्रा अगाडि चुनौती छन्, ती चुनौतीको सामना गर्दै अगाडि बढ्नुपर्छ ।’
नेपालमा कम्युनिष्ट आन्दोलनलाई सिध्याउन चाहनेहरू यतिवेला काँग्रेसलाई रूख काट्ने बन्चरो र प्रचण्ड–माधवलाई बन्चरोको बीँडका रूपमा प्रयोग गरिरहेकोे चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभयो–रूख काटिसकेपछि यिनको प्रयोजन सकिन्छ र बन्चरो फ्याकिएझैं फ्याकिन्छन्, सुकेका काठहरू पलाउने, हुर्कने र बढ्ने छैनन् ।
दुई दिने प्रशिक्षणको पहिलो दिन पार्टीका उपाध्यक्ष बिष्णु पौडेलले ‘वर्तमान राजनीतिक शक्ति सन्तुलन, पार्टीको सामर्थ्य विस्तार र राष्ट्रको मुख्य शक्तिको रूपमा नेकपा एमालेको भूमिका’ विषयमा प्रशिक्षण दिनुभएको छ ।
त्यस्तै, पार्टीका उपमहासचिव बिष्णु रिमाल र स्थायी कमिटी सदस्य डा.राजन भट्टराईले पनि प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको छ ।
उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा पार्टीका पोलिटव्यूरो सदस्य तथा उपत्यका प्रदेश कमिटीका ईन्चार्ज सुजिता शाक्य, सहइन्चार्ज तथा केन्द्रीय कमिटी सदस्य बीना श्रेष्ठ, केन्द्रीय सदस्यहरू नवीना लामा, पेम्वा लामा, सुनिता वराल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *