प्रतिक्रियावादीहरुले एमालेलाई कमजोर बनाउन गठबन्धन बनाए : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशी/विदेशी प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएको ठोकुवा गर्नुभएको छ । अध्यक्ष ओलीले मजदुर वर्ग पक्षीय विचारहरुका संवाहक शक्ति नेकपालाई विभाजन गर्ने काम पनि प्रतिक्रियावादी शक्तिहरुले नै गराएको जिकिर गर्नुभएको छ ।

मजदुर वर्ग पक्षीय शक्तिहरुलाई कमजोर पार्ने प्रयास भइरहेको र त्यसैको परिणाम स्वरुप आफू नेतृत्वको तत्कालीन नेकपा विभाजन भएको बताउनु भयो । आज शनिबारबाट ललितपुरको गोदावरीस्थित सनराईज हलमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आठौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरुले जहिले पनि मजदुर वर्ग र उनीहरुको पक्षधर शक्तिलाई विभाजित गर्ने काम गरिरहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले मजदुर वर्गको हितको लागि आफ्नो पार्टी र आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय गन्तव्य तय गरेर अघि बढाएको स्मरण गराउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘मजदुर वर्गपक्षीय विचारहरुका संवाहक शक्तिहरु, ती हितहरुका संवाहक शक्तिहरु, तिनीहरुलाई प्रतिक्रियावादी शक्तिहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै विभाजित गर्न खोज्दछन् । आज हाम्रो देशमा तथाकथित जुन गठबन्धन भन्ने देखा प¥यो । यो गठबन्धन के हो ? यो गठबन्धन, यस्ता गठबन्धन, हाम्रो पार्टी जसरी गत वर्ष विभाजन गराइयो, गरियो । यही अहिले मैले भनेका मजदुर वर्गपक्षीय विचारहरु, मजदुर वर्ग पक्षीय हितहरु, मजदुर पक्षीय संगठनहरु, संस्थाहरु, मजदुर वर्ग पक्षीय आन्दोलनहरु, तीनलाई कमजोर पार्ने प्रयासहरु ।’
उहाँले थप्नुभयो, ‘किनभने अन्तिममा समृद्ध नेपालः सुःखी नेपालीको गन्तव्य कसको हो त ? यो सम्पन्न सम्भ्रान्त वर्गको गन्तव्य त होइन । उसका लागि अहिलेनै समृद्धि छदै छ नि । अहिले नै कसैको फोर्स बुकमा नाम त लेखिएकै छन नि । उनीहरुको गन्तव्य त होइन त्यो । यो गन्तव्य मजदुर वर्गीय गन्तव्य हो । श्रमिक वर्गीय गन्तव्य हो । श्रमजीवि वर्गीय गन्तव्य हो । अहिले पनि जो मानवोचित जीवन जिउन बञ्चित छन । निरपेक्ष गरिवीको रेखामुनि छन् । अथवा रोजगारीको अवसरबाट बञ्चित छन् । अथवा जिवन निर्वाह गर्न पुग्ने गरी ज्याला अथवा आम्दानीको अवसरबाट बञ्चित छन् ।’
उहाँले फेरि थप्नुभयो ‘सहज जीवन जीउन सकिरहेका, पाईरहेका छैनन् । तीनका निम्ति समृद्ध नेपालः सुःखी नेपालीको गन्तव्य, त्यो राष्ट्रिय आकांक्षा आवश्यक छ । र, त्यो वास्तवमा त्यस वर्गका लागि आवश्यक छ । यसर्थ मजदुर वर्ग यस कुरा प्राप्तीका लागि वर्गीय हिसावले नै प्रतिवद्ध हुन्छ । वर्गीय हिसावले नै इमान्दार हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *