हाम्रो पार्टी आगामी चुनावको रणनीतिमा जुटेको छः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा पार्टीभित्र आन्तरिक एकता कमजोर भएको र अगुवा नेताहरु नै चुनाव हराउन लागिपरेकाले सोचे जस्तो परिणाम आउन नसकेको बताउनु भएको छ ।  एमाले बागमती प्रदेश कमिटीले  काठमाडौंमा आयोजना गरेको दुई दिने ‘संगठनात्मक व्यवस्थापन र परिचालन’ बिषयक कार्यशालाको आज उद्घाटन गर्दै ओलीले यस्तो बताउनु भएको हो । उहाँले आगामी निर्वाचनमा कसैबाट यस्तो गतिविधि दोहोर्‍याउन नहुने भन्नुभयो । उहाँले गठबन्धनका दलहरु आफ्नै पीरमा रहेको तर एमाले आगामी चुनावको रणनीतिमा जुटेको पनि बताउनु भएको छ ।

उहाँले  एमालेका नेता–कार्यकर्ताहरुलाई गठबन्धनका बिषयमा नसोची आफ्नो आन्तरिक एकता बलियो बनाएर पार्टीकाममा लाग्न निर्देशन पनि दिनुभयो ।  उहाँले नेताहरुलाई नेताको सादा जीवन र शुद्ध आचारण हुनुपर्नेमा जोड दिनुभयो ।

एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेल, संगठन विभाग प्रमुख खगराज अधिकारी, स्थायी समिति सदस्य एवं प्रदेश इन्चार्ज काशीनाथ अधिकारीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा एमालेका नेताहरु भानुभक्त ढकाल, आनन्द पोखरेल, अरुण नेपाल, पार्वत गुरुङलगायतको उपस्थिति रहेको थियो।

कार्यशालामा प्रदेशका १३ वटै जिल्लाका पार्टी नेता, बागमती प्रदेश अन्तर्गतका केन्द्रीय र प्रदेश तहका नेता, प्रदेशस्तरीय जनवर्गीय संगठनका प्रमुखहरुको सहभागिता रहेको छ। दुईदिने कार्यशालाले समूहगत छलफलसहित पार्टी निर्माणका सवालमा महत्वपूर्ण तयारी गर्ने र नयाँ ऊर्जाका साथ पार्टी कार्यक्रमहरु अघि बढाउने एमाले बागमती प्रदेश उपसचिव महेश बर्तौलाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *