यो सरकारले किसानलाई चाहिने बेला मल आपूर्ति गर्दैन, यस्तो किन ? : अध्यक्ष ओली

काठमाडौँ ! प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरेक वर्ष खेती गर्ने बेला किसानलाई मल किन आपूर्ति हुँदैन भनेर सरकारलाई प्रश्न गर्नुभएको छ । उहाँले यस वर्ष पनि सरकारले किसानका लागि मल ल्याउने व्यवस्था नगरेको बताउनु भयो ।

अखिल नेपाल किसान महासंघले आज शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले मलको प्रबन्ध नगरेकोमा आक्रोश व्यक्त गर्नुभयो ।

संसद्‌मा गरेको प्रतिबद्धता प्रधानमन्त्री शेरबहादुर देउवाले पूरा गर्न नसकेको उहाँले जिकिर गर्नुभयो । ‘हामीले सरकार छोडेपछिको मात्रै हिसाब गर्दा मात्रै चामल कसरी आयात भयो ? कृषि प्रदान देश, ६० प्रतिशत जनता कृषिमा संलग्न छ । यस्तो अवस्थामा कृषि प्रदान देशमा, यस्तो उर्वर देशमा, जहाँ यति हिमाल, पहाड, उर्वर फाँट छन् । जहाँको जनसंख्या ३ करोडभन्दा कम छ । त्यस्तो देशमा किन हामी खाद्यान्नमा पनि आत्मनिर्भर हुन नसकेर ४९ अर्बका आयात गर्छौं, चामलमात्रै,’ उनले प्रश्न गरे, ‘हरेक साल किसानलाई चाहिने बेलामा मल आपूर्ति हुँदैन, किन यस्तो हुन्छ ? यतिबेला मल चाहिन्छ भन्ने सबैलाई थाहा छ । त्यही कुरा ६ महिना अगाडिदेखि प्रयास गरे हुन्थ्यो नि ! अस्ति प्रधानमन्त्री शेरबहादुर देउवाजीले संसद्‌मा उभिएर भन्नुभयो–किसानलाई मलको आपूर्तिको व्यवस्था तत्काल गरिनेछ र किसानले मल पाउनेछन् । वाणी मिठो थियो । कुरा राम्रो थियो । तर, ल्याउने प्रबन्ध कहीँ पनि गरिएको छैन, केही पनि गरिएको छैन भने मल कहाँबाट आउँछ ? अर्थात् अलमल्याउने काम भएको छ । अलमल्याउने कामबाट, छक्याउने कामबाट कृषि क्षेत्रको उत्थान हुन सक्दैन ।’

किसानका लागि मलको अभाव हुन नदिन सरकारले बेलैमा आवश्यक व्यवस्था गर्न नसकेको उहाँको भनाई थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *