प्रचण्डले राजनैतिक बेइमानी गरेकाले नेकपा विभाजन भयो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको बताउनु भएको छ । अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमान्दारिताका साथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नु परेको स्पष्ट पार्नु भएको हो ।

आज शुक्रबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले बडो दुखका सफलता हात परेको पार्टीलाई प्रचण्डले प्रतिक्रियावादी सामू अर्पण गर्दा आफूलाई दुःखित बनाएको बताउनु भयो ।

पार्टी एकताका बेला दिएको सिट संख्यालाई चरम दूरुपयोग गरेर प्रचण्डले आफूलाई साधारण सदस्यबाट समेत निश्काशन गरेपनि आफूले त्यसलाई जोगाएर अघि बढाएको अध्यक्ष ओलीको दाबी छ ।

उहाँले भन्नुभयो, ‘हामीले प्रचण्डलाई लखेटेको होइन । प्रचण्डसँग त एकता नै गरिएको हो । तर, प्रचण्डले एकता गर्दा पनि इमान्दारिताका साथ गर्नु भएन । एकताबद्ध रहँदा पनि इमानका साथ काम गर्नु भएन । र, बेइमानपूर्ण ढंगले हट्नुभयो । एकताको निम्ति बनाइदिएको कमिटी, एकताको निम्ति दिइएको संख्या त्यसलाई यति चरम दूरुपयोग गर्नु भयो कि पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट निश्कासन गर्नु भयो ।’
उहाँले थप्नुभयो, ‘पार्टी अध्यक्षलाई साधारण सदस्यबाट समेत एकता, अनेकता के गरेको हो ? तपाईहरु आफै विचार गर्नुस् । पार्टी अध्यक्षमाथि गम्भीर आरोपको पुलिन्दा बनाउनु भयो उहाँले । र, ती आरोपका साथ पार्टी विभाजनको खेती गर्नु भयो उहाँहरुले । यो बडो दुःखद् कुरा थियो ।’
अध्यक्ष ओलीले चरम सत्ताको दूरुपयोग गरेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी केही पछि परेपनि आगामी दिनमा जित सुनिश्चित रहेको दाबी गर्नुभयो । पपुलर मत संख्यालाई हेर्ने हो भने अहिले पनि आफ्नो पार्टी नै मुलुकको पहिलो राजनीतिक शक्ति रहेको जिकिर गर्नुभयो ।

आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमलाई पार्टीमा भित्र्याउनु भएको थियो। उक्त कार्यक्रममा एमाले महासचिव लगायतका नेताहरुको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *