एमालेलाई माधव नेपालको कुनै आवश्यकता छैन : अध्यक्ष केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई माधव नेपालको आवश्यकता नरहेको बताउनु भएको छ । विहीबार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अब पार्टीलाई माधव नेपालको आवश्यकता नरहेको बताउनु भएको हो ।

अध्यक्ष ओलीले माधव नेपाललाई ‘पार्टीमा फर्किनुस्’ भन्ने नेताहरूलाई नै प्रश्न गर्दै भन्नुभयो, ‘अझै पनि हाम्रा केही कमरेडहरूले माधव कमरेड आउनुस् भन्दै हुनुहुन्छ । फेरि किन आउने ? फेरि पार्टी फुटाउन ?’

उहाँले थप भन्नुभयो, ‘माधव नेपालको आवश्यकता किन ? म बुझ्दिन ।’ त्यस्तै उहाँले पार्टीमा भइन्जेल माधव नेपालले कहिल्यै पनि पार्टी र सरकारको पक्षमा नबोलेको पनि दाबी गर्नुभयो । त्यस्तै माधव नेपालले साढे ३ वर्षसम्म पार्टीमा गुटबन्दी गर्ने र पार्टीलाई सिध्याउने बाहेक कुनै काम नगरेको पनि बताउनु भयो।
एमालेलाई सिध्याउन माधव नेपालले विपक्षीसँग साँठगाठ गरेको आरोप लगाउँदै भन्नुभयो, ‘नराम्रो नभनौं, प्रतिक्रियावादी काम माधव नेपालजीको नेतृत्वमा भयो । यो पार्टी सिध्याउन उहाँले कुनै कसर बाँकी राख्नुभएन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *