आगामी निर्वाचनबाट गठबन्धनलाई ‘कर्‍याककुरुक’ पारेर फाल्दिनु जति आनन्द केहीमा हुँदैन’ – अध्यक्ष ओली

बिर्तामोड !  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दुवै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको बताउनु भएको छ । गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका १ गोल्धापमा आज मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दुवै निर्वाचनमार्फत एमालेले पाँच वटै दललाई ‘पत्तासाफ’ गर्ने दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले गठबन्धन टुट्ने हो कि भन्ने डर आफूलाई रहेको व्यंग्य गर्नुभयो । ‘मलाई डर के छ भने हत्तपत्त यो गठबन्धन टुटिहाल्ला कि भन्ने डर छ । पाँचै जना (दल) लाई एकै पटक ‘कर्‍याककुरुक’ पारेर फाल्दिनु जति आनन्द केहीमा हुँदैन’ उहाँले भन्नुभयो ।
उहाँले एमालेको शक्तिका कारण मुलुकको राजनीति नै दुई धारमा मात्र सीमित बनेको टिप्पणी गर्नुभयो । ‘आज राष्ट्रिय राजनीति दुई भागमा बाँडिएको छ । एमाले कस्तो भए छ त अहिले भन्दा, एकतिर एमाले, अरु बाँकी अर्कातिर । त्यहीँ पनि बहुमत एमालेको । आज देश यस स्थितिमा पुगेको छ,’ अध्यक्ष ओलीले भन्नुभयो,‘एमालेसंग भिड्न एक्लै कसैले होइन, चार जनाले पनि चिताउन सक्दैन, पाँचै जना चाहिन्छ ।’ अध्यक्ष ओलीले गठबन्धनका कारण एमालेलाई धेरै फाइदा पुगेको टिप्पणी गर्नुभयो ।

‘गठबन्धन उहाँहरुलाई कति फापेको छ उहाँहरु जान्नुहुन्छ । एमालेलाई चाहिँ फापेको छ’-उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले आसन्न स्थानीय तहको निर्वाचनमार्फत ‘झापा जिल्ला, लाल किल्ला’ बनाउने दाबी गर्नुभयो । उहाँले पाँच दल मिल्दा पनि एमालेलाई हराउने हिम्मत ‘गठबन्धन’ सँग नभएकोले वैशाख ३० को निर्वाचनमा एमालेको बहुमत आउने बताउनु भयो । देशमा परिवर्तनको शंखघोष गर्ने, कांग्रेसलाई त्यो बेला खुट्टा टेकाउन हिम्मत दिने पार्टी र त्यस आन्दोलनको जन्म भएको जिल्ला झापा भएको उहाँले जिकिर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *