आफूले उकासेको देशको अर्थतन्त्र नालायकहरुले ९ महिनामै कंगाल बनाए : अध्यक्ष ओली

काठमाडौं ! नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नालायकहरुले नाै महिनामै देश कंगाल बनाएको बताउनु भएको छ।
शनिबार बागलुङमा स्थानीय तह निर्वाचित केन्द्रीय प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो सरकार हुँदा जति खर्च गरे पनि एक वर्षका लागि पुग्ने सञ्चित विदेशी मुद्रा रहेकोमा वर्तमान सरकारले ९ महिनामै सकेर कंगाल बनाएको बताउनु भयो।

‘मेरो नेतृत्वमा सरकार हुँदा जे जति खर्च गरे पनि एक वर्षलाई पुग्ने विदेशी मुद्राको सञ्चिती थियो,’ उहाँले भन्नुभयो,‘अहिले चार महिनाका लागि पनि नपुग्ने अवस्थामा रहेको छ। नालायकहरुको हातमा पर्‍यो भने ९ महिनामै देश कंगाल पार्न सक्दा रहेछन् भन्ने उदाहरण देखियो।’
राष्ट्र बैंकका गभर्नर पार्टीको कार्यकर्ता हुन नमान्दा वर्तमान सरकारले निलम्बन गरेको बताउनु भयो।

‘अहिले अर्थ मन्त्रालयमा अर्थशास्त्री छैनन्, पढेर राष्ट्र बैंकको गभर्नर बनेकालाई कार्यकर्ता नभएको भनेर निलम्बन गरिएको छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘वर्तमान अर्थमन्त्री त ठूलो अर्थशास्त्री अरुले केही बोल्नै हुँदैन। हम! हामीलाई सिकाउने भनेर उफ्रिहाल्छन्।’ उहाँले पछिल्लो तीन वर्षमा असाधारण विकास निर्माणको काम गरेको आफ्नो सरकारलाई उन्नती देख्न नचाहानेहरुले गिराएको समेत बताउनु भयो।

‘पछिल्लो चालिस महिनामा हामीले असाधारण विकासको काम गरेका छौं, पार्टी भित्रको अवरोध, कोभिडको समस्या हुँदा पनि विकासको गति रोकिएन,’ ओलीले भन्नुभयो,‘हजारौं पुल बनायौं, हजारौं किलोमिटर बाटो बनायौं। हुलाकी राजमार्ग सुरु गर्‍यौं, फास्ट ट्रयाकको काम अगाडि बढ्यो।’ भूकम्पले ध्वस्त पारेको देशको पुनः निर्माण आफ्नो सरकारले तीव्र गतिमा गरेको अध्यक्ष ओलीको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *