उदयपुर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन स्थापना र विकास गर्ने पार्टी एमाले नै भएको बताउनु भएको छ ।
उदयपुरको सदरमुकाम गाईघाटस्थित लोकतान्त्रिक चोकमा एमालेले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘एमाले हिजो पनि देश र जनताको विकास तथा सुशासन स्थापना गर्न प्रतिबद्ध थियो र आज पनि अन्य पार्टीभन्दा बढी प्रतिबद्ध छ ।’
अहिले वर्तमान पाँच दलको संयुक्त सरकार उल्टो दिशातिर चलिरहेका कारण देश अस्थिरतातिर गइरहेको आरोपसमेत लाउनु भयो। एमालेले देशमा गरिबी हटाउन सडक, भौतिक संचरना निर्माणको काम, लोककल्याणकारी कार्यको लागि देशको अन्य राजनीतिक दलहरूभन्दा दुईचार कदम अगाडि रहेको दाबी गर्दै उहाँले अन्य राजनीतिक दल देश विकासको काम गर्न र सुशासन स्थापनामा असफल भएको आरोप लगाउनु भयो।
आफ्नो नेतृत्वमा बहुमतको सरकार रहेको बेला आफ्नै पार्टीका केही स्वार्थी नेता र अन्य पार्टीले आफूले राम्रो काम गरिरहेको कारण सरकार ढाल्ने काम गरेर विकास गर्न नदिएको अध्यक्ष ओलीले स्पष्ट पार्नुभयो। उहाँले आगामी निर्वाचनमा एमाले निर्वाचित भएपछि पार्टीले देश विकासलाई निरन्तरता दिने बताउनु भयो।
अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले पनि एमाले देशको सबैभन्दा ठूलो प्रतिपक्ष पार्टी हो, आगामी वैशाख ३० को स्थानीय निर्वाचन सम्पन्न भएपछि पनि एमाले देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी बन्ने छ ।’ उहाँले अलमलिएका पुराना कार्यकर्तालाई बेलैमा एमालेमा सङ्गठित हुन आह्वान गर्नुभयो। एमालेले आगामी निर्वाचनबाट बहुमतको सरकार गठन गरेपछि लोककल्याणकारी कार्य र देश विकासको कार्यलाई झनै तीव्रता दिने विश्वास दिलाउँदै अध्यक्ष ओलीले देशको हित हुने तथा कसैसँग नझुक्ने नीतिसमेत लिने उल्लेख गर्नुभयो ।