पार्टी छोडेर चोक्टा खान गएकाहरुलाई बैशाख ३० गतेपछि झोलमा डुबाइन्छ : अध्यक्ष ओली

काठमाडौं ! पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छोडेर चोक्टा खान गएकाहरु बैशाख ३० गतेपछि झोलमा डुब्ने ठोकुवा गर्नुभएको छ । एमाले उदयपुरले आज सदरमुकाम गाईघाटमा  आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।

‘पार्टी छोडेर चोक्टा खान गएकालाई झोलमा डुबाउने उपयुक्त समय वैशाख ३० हो,’,‘पिलो निचोर्दैमा वजन घट्छ भन्ने हैन, हल्का दुखाई मात्र कम भएको हो, अब हाम्रो वजन बढिसकेको छ ।’-अध्यक्ष ओलीले भन्नुभयो ।

पार्टी छोडेर गएका माधव नेपाल समूहलाई लक्षित गर्दै अध्यक्ष ओलीले विकास र समृद्धिको यात्रामा एमालेले गरेको असाधारण उपलब्धि देख्न नसकेर परमादेशबाट स्थापित भएको सरकारलाई चुनावबाटै विस्थापन गराइने उद्घोष गर्नुभयो । उहाँले जिल्ला र स्थानीय तहलाई जोड्ने गरी २ सय ६६ वटा सडक राजमार्ग र ३ सय ९६ वटा अस्पताल एकैसाथ शिलान्यास गर्दा आत्तिएर षड्यन्त्रपूर्वक एमालेलाई सरकारबाट हटाइएको उल्लेख गर्नुभयो ।

‘हामी विकास र समृद्धिको यात्राले जनतालाई जोडन चाहन्छौं,’ उहाँले भन्नुभयो, ‘निकट भविष्यमा नै चुनाव आउँदैछ, त्यसमा पुन: जनताको विश्वासबाट सरकारको बागडोर सम्हाल्छौं ।’ उहाँले समाजवादको गन्तव्यलाई एमालेले मात्र अघि बढाउन सक्ने स्पस्ट पार्नुभयो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्य नै समाजवादको गन्तव्य भएको भन्दै अध्यक्ष ओलीले यसलाई एमालेले मात्र अघि बढाउन सक्ने बताउनु भयो ।अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा धरहरा, रानीपोखरी, विभिन्न राजमार्ग, अस्पताल, सडक, कृषि, पूर्वाधारका लागि पर्याप्त बजेट थियो र त्यहीअनुसार काम भए, तर अहिले तिनै योजना बजेट भएन भन्दै कटौती गर्नु लज्जास्पद भएको बताउनु भयो । ‘बजेट परिचालन र खोजी गर्न क्षमता चाहिन्छ,’ उहाँले थप्नुभयो, ‘त्यो क्षमता नभएकै कारण आफ्ना पालामा भएका विकास निर्माणका काम, शिलान्यास, उद्घाटन सबै बजेट अभाव देखाउँदै रोकिनु दुखद् छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *