चुनावमा देशभर पाँच दल भनिनेलाई एउटै कुच्चाले बडार्छौं : अध्यक्ष ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउने निर्वाचनमा देशभर पाँच दललाई एउटै कुच्चाले बडार्ने बताउनु भएको छ।

इलाममा आयोजित जनसभामा अध्यक्ष ओलीले अबको चुनावमा अत्यधिक बहुमतका साथ एमाले विजयी हुने प्रष्ट पार्नुभएको छ।
उहाँले भन्नुभयो, ‘फेरि एमालेलाई बहुमत ल्याउन रोक्न लागेका छन्। नङ नगाडे हुन्छ। ओइलिएका पात झर्न सक्छन्। एमालेको सूर्य सतीसाल भएर उभिन्छ। देशभर पाँच दललाई आउने चुनावमा एउटै कुच्चाले बडार्नेछ। हामी चुनाव पर्खिरहेका छौं। एमाले नेपाली जनताको पार्टी हो।’

अध्यक्ष ओलीले कम्युनिस्टको बर्को ओढेका अन्तरेजन्तरेले एमालेविरुद्ध लागेको बताउनु भयो। ‘एमालेले लगाइदिएको मेयरको फुली बोकेर, संसदको फूली बोकेर एमालेविरुद्ध लाग्ने? आउँदो निर्वाचनमा जवाफ दिनुपर्छ। गुन बिर्सिने यस्ता तत्वहरुलाई तपाईहरुले मुखभरीको जवाफ दिनुपर्छ,’ उहाँले भन्नुभयो।

एमाले कसैलाई अल्मल्याउने, झुक्याउने पार्टी नभएको उहाँले स्पष्ट पार्नुभयो। ‘तपाईहरुले दिएको भोटको भत्ता खाइरहेका छन्, अनेकथरी कुरा गरिरहेका छन्। एमालेले कसैलाई भ्रममा पार्दैन,’ उहाँले भन्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *