आगामी निर्वाचनबाट माओवादी पार्टी समाप्त हुन्छ : अध्यक्ष ओली

काठमाडौ ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र समाप्त हुने बताउनु भएको छ । माओवादी पार्टी आफै सिद्धिने उहाँको भनाइ छ ।

सुखानी सहिद स्मृति दिवसका अवसरमा शनिबार झापाको सालबारीस्थित झापा विद्रोहका पाँच योद्धाको सालिकमा माल्यार्पणपश्चात बिर्तामोडमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी पार्टी सकिने एउटा झलक आगामी वैशाख ३० मा देखिने बताउनु भयो।

अध्यक्ष ओलीले जनताले भोट हाले पनि नहाले पनि माओवादी पार्टी समाप्त भएर जाने दाबी गर्नुभयो । ‘भोट हाल, भोट नहाल । खाल्डोमा सुत या भुईंमा सुत । पक्की घरमा सुत, कच्ची घरमा सुत । छाप्रो बनाएर सुत, कुटीमा बस । तर, माओवादी केन्द्र भन्ने पार्टी सिद्धिन्छ, सिद्धिन्छ । मैले यो कुरा २०५६ सालमै भनेको थिएँ,’ ओलीले भन्नुभयो, ‘दस वर्ष उग्रपन्थ माथि चढ्छ । दस वर्षपछि ओरोलो लाग्छ । दस वर्षमा लगभग सिद्धिन्छ ।’

२०५२ सालदेखि २०६२ सालसम्म माओवादी उकालो लागेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘०५२ बाट ०६२ सम्म उकालो लागेको तपाईंहरुलाई थाहा छ । त्यसपछि ओरोलो लाग्न सुरु भयो । ७२ मा आइपुग्दा लगभग सिद्धियो । ७४ मा फेरि मैले नै पम्प हाल्दिएको हुनाले अलिकति सुध्रिएर गयो । बेलुनमा पम्प हालेर राख्दा विस्तारै विस्तारै सकिन्छ । अब म माओवादीलाई पम्प किन हाल्छु ?’ उहाँले पार्टी समाप्त हुँदै गएको देखेका पुष्पकमल दाहालले माओवादी सिध्याउन एमाले लागेको आरोप लगाउन थालेको पनि बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *