सिंहदरबारभित्र मेलम्चीको खानेपानी जोडिंदै

काठमाडौं ! देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आगामी जेठ महिनाभित्रै मेलम्चीको खानेपानी वितरण सुरु हुने भएको छ। सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयहरूमा मेलम्चीको खानेपानी जडान गरिसक्ने गरी काम तीव्र गतिमा अगाडि बढाइएको खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिइन्।

उनका अनुसार काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई मेलम्चीको पानी वितरण प्रणाली जडानका लागि निर्देशन दिइएको र सोहीअनुसार काम अघि बढिरहेको छ। खानेपानी मन्त्री प्रदीप यादवले सिंहदरबारभित्र अब खानेपानीका बोतल र जार प्रयोग निषेध गर्ने घोषणा गरेका छन्।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव ई मीना श्रेष्ठले पनि मेलम्चीको पानी वितरणका लागि काम तीव्र गतिमा भइरहेको बताइन्। श्रेष्ठका अनुसार मन्त्री यादवले सिंहदरबारलाई स्वच्छ र भरपर्दो खानेपानी पहुँचमा ल्याउन सशक्त पहल गरेका छन्।

केयुकेएलका कार्यकारी प्रमुख अशोककुमार पौडेलले मेलम्चीको पानी शुद्ध र पिउन योग्य भएको दाबी गर्दै सिंहदरबारमा चाँडै वितरण सुरु हुने बताएका छन्। उनका अनुसार मेलम्चीको पानी गुणस्तरीय परीक्षण पश्चात उपभोगका लागि पठाइनेछ।

हालसम्म सिंहदरबारभित्रका कार्यालयहरूले बाहिरबाट पानी खरिद गर्दा मासिक करिब चार करोड रुपैयाँ बराबरको आर्थिक भार सरकारमाथि परेको कर्मचारीहरू बताउँछन्। मेलम्चीको पानी सिधै वितरण भएपछि यो आर्थिक दायित्व घट्ने विश्वास गरिएको छ। साथै, सरकारी खर्चमा समेत उल्लेखनीय बचत हुने अनुमान गरिएको छ।