डिलाशैनी गाउँपालिकाले साउन १ गतेदेखी ६० करार कर्मचारी हटाउँदै

बैतडी ! बैतडीको डिलाशैनी गाउँपालिकाले आवश्यकता बाहेकका करार कर्मचारीलाई हटाउने भएको छ । आगामी साउन १ गतेपछि करारका कर्मचारीको करार अवधि नथप्ने निर्णय गरेको गाउँपालिका प्रवक्ता यज्ञराज भट्ट (यदु)ले बताए ।

उनले भने,‘हामीले २०७८ चैतमा चुनावको मुखमा विना विज्ञापन नियुक्त गरिएका कर्मचारीहरू हटाउने निर्णय गरेका हौं । उनीहरूको ठाउँमा हाम्रा मान्छे राख्न हटाइएको होइन ।’ १७ असारमा बसेको गाउँकार्यपालिकाको बैठकले उक्त निर्णय गरेको प्रवक्ता भट्टले बताए । हटाउने प्रक्रियामा रहेका करारका कर्मचारीलाई साउन १ गतेबाट तलबभत्ता नदिने उनले बताए । उनले भने,‘पारिश्रमिक खुवान सक्ने अवस्था छैन । यसअघिको तलब पनि जेनतेन जनप्रतिनिधिको सेवासुबिधा र लक्षितवर्गको बजेटबाट कटौती गरेर खुवायौँ ।’

हटाइएका कर्मचारीमा ३० पुस २०७८ को कार्यपालिका बैठकको निर्णयको आधारमा १ चैतमा नियुक्ति दिएको पाइएको डिलाशैनी–७ का वडाध्यक्ष प्रकाशमणि भट्टले बताए । अघिल्लो सरकारले आवश्यकता नभएको ठाउँमा करारमा कर्मचारी भर्ना गरेकाले हटाउन बाध्य भएको गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले बताए । ‘अदक्ष कर्मचारी राख्नु हुँदैन । हामीले हटाएका मध्ये अधिकांश कर्मचारी आवश्यकताको अध्ययन नै नगरेर राखिएका छन् । उनीहरूलाई हटाउन कुनै समस्या छैन । हामीले चुनावका बेलासमेत पहुँचका आधारमा भर्ना गरिएका कर्मचारी हटाउने र हाम्रो मान्छे पनि त्यसरी भर्ना नगर्ने भनेरै जनताको भोट पाएका हौं । बोलेका कुरा अहिले कार्यान्वयन गरिरहेकाछौं । नियम विपरीत भएका कामको छानबिन गर्ने छौं,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *