‘घुस्याहा’ कार्यालयमा जान कर्मचारीको मरिहत्ते

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र तालुकदार मन्त्रालयमा सरुवा माग्न आउने अधिकांश कर्मचारी घुस खान पाइने निकाय वा कार्यालयमा जान मरिहत्ते गर्ने क्रम फेरि बढेको छ । सामान्य प्रशासन मन्त्रालयमा सरुवा माग्न आउनेहरूको भीडभाड लाग्ने क्रम बढ्दो छ ।

त्यसरी सरुवा माग्न आउनेमध्ये अधिकांश कर्मचारी घुस खान पाइने र अतिरिक्त कमाइ राम्रो हुने ठाउमा जानेगरी दौडधुप गर्ने गरेका छन् । त्यस्ता कर्मचारी विभिन्न शक्तिकेन्द्र धाउने तथा बिचौलियाको समेत प्रयोग गर्न खप्पिस हुने गरेको सामान्य प्रशासन मन्त्रालयका अधिकारीको अनुभव छ । जनस्तरमा समेत केही सरकारी कार्यालय ‘घुस्याहा’ कार्यालयका रूपमा चिनिन्छन् ।

जहाँ घुस नदिई जनताका कुनै काम हुँदैन । प्रशासन, कृषि, वन, इन्जिनियरिङ र विभिन्न सेवा समूहका कर्मचारी घुस खान पाइने निकायमा जान हौसिने गरेका छन् ।

मन्त्रालयका अधिकारीका अनुसार घुस्याहा र आकर्षक कार्यालयका रूपमा वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, नापी कार्यालय, यातायात कार्यालय, श्रम कार्यालय, राजस्व कार्यालय, सडक तथा डिभिजन कार्यालय, कर कार्यालय, सुगम र बढी बजेट भएका स्थानीय तहहरू, कम्पनी रजिस्टार कार्यालय, भौतिक तथा पूर्वाधार मन्त्रालयअन्तर्गतका कार्यालय, केही जिल्ला प्रशासन कार्यालय छन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *