बढ्न थाल्यो घरजग्गाको कारोबार

काठमाडौं । स्थानीय तहहरूले जग्गा वर्गीकरणलाई मूर्तरूप दिएसँगै घरजग्गा कारोबार बढ्न थालेको छ । गत असोज र कात्तिकको तुलनामा मंसिरमा घरजग्गा कारोबार बढेको देखिएको हो ।

सरकारले २३ मंसिरसम्ममा जग्गा वर्गीकरण गर्नुपर्नेगरी स्थानीय तहहरूलाई जिम्मेवारी दिएपछि घरजग्गामा मन्दी छाएको थियो ।

राष्ट्र बैंकले घरजग्गा कारोबारमा कडाइ गरेका कारण र बैंकहरूमा लगानीयोग्य रकम अभावमा मन्दी छाएको थियो । यद्यपि, मंसिरमा कारोबार बढेको देखिएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेखन विभागका अनुसार मंसिरमा मात्रै कुल ८९ हजार २ सय ४६ घरजग्गा कारोबार भएको छ । कारोबार र जग्गा कित्ताकाट संख्या पनि बढेको छ । मंसिरमा ३० हजारभन्दा बढी जग्गा कित्ताकाट भएको छ ।

विभागका अनुसार गत कात्तिकमा ७६ हजार ५ सय ६२ र असोजमा ७४ हजार ८ सय ५० वटा घरजग्गा कारोबार भएको थियो ।

जग्गा वर्गीकरण सकिन थालेसँगै प्रत्येक महिना कारोबार बढेको हो । गत कात्तिकमा सबैभन्दा बढी जग्गा कारोबार इनरुवामा भएकोमा मंसिरमा भने बाँके नेपालगन्जमा भएको छ ।

गत असोजमा पनि इनरुवामै बढी जग्गा कारोबार भएको थियो । इनरुवामा गत कात्तिकमा २ हजार ६ सय ८४ र नेपालगन्जमा २ हजार ६ सय ८४ वटा भएको थियो ।

अहिले इनरुवालाई उछिन्दै नेपालगन्जमा ४ हजार १ सय ७८ वटा कारोबार भएको छ । सो मालपोत कार्यालयबाट १ हजार ३ सय ८२ लिखत पारित भएको थियो ।

यो खबर आजको राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *