हिमालयन रिइन्स्योरेन्सको आईपीओ आज बाँडफाँट हुँदै

काठमाडौं ! हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँट हुने भएको छ । रिइन्स्योरेन्सको आईपीओ बालुवाटारस्थित ताज रिसेप्सनमा आज बिहान १० बजे बाँडफाँट हुने कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

कम्पनीले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा दुई करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३० लाख कित्ता, कम्पनीका कार्यरत कर्मचारीका लागि ६ लाख कित्ता तथा सामूहिक लगानी कोषहरूलाई १५ लाख कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीको आईपीओमा १६ लाख ६० हजारले आवेदन दिएका छन् । आवेदन दिएकाहरू सबैले आईपीओ पाउने निश्चित छ । केही आवेदनहरू रद्द हुने भएकाले न्यूनतम १० कित्ता र त्योभन्दा बढी माग गर्नेहरूले ३० कित्तासम्म आईपीओ पाउने अनुमान छ ।