मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आजदेखि बिक्री खुला

काठमाडौं ! मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपीओ शुक्रबार देखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर मंसिर ८ गतेदेखि निष्कासन गर्ने अनुमति पाएको हो ।

जसमध्ये, कम्पनीले पहिलो चरणमा सोको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ ।

यसर्थ, बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

यो आइपीओमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।