काठमाडौं ! मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई आज साउन २८ गतेदेखि आईपीओ खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई २२ लाख ७६ हजार ६ सय २० कित्ता शेयर निष्काशन गरेको हो ।
स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्री नभएको ६ लाख १६ हजार ६ सय २० कित्ता समेत थपेर सर्वसाधारणलाई २२ लाख ७६ हजार ६ सय २० कित्ता शेयर निष्काशन गरिएको हो । यस निष्काशनमा साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि बिओके क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
कम्पनीले यस अघि नै आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर बाँडफाँड गरिसकेको छ ।
मनकामना इन्जिनियरिङ्गले दोलखाको सिंगटी स्थित ५ मेगावाट विद्युत क्षमताको घट्टेखोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । कम्पनीले आयोजना निर्माण सम्पन्न गरि २०७७ साल कार्तिक २३ गतेदेखि पूर्ण रुपमा विद्युत उत्पादन गरीरहेको छ। आयोजनाको प्रति मेगावाट लागत २७ करोड ८७ लाख रहेको छ ।