काठमाडौं ! हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बिहिबार बिहान नक्साल स्थित आफ्नै कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार यस आईपीओमा कुल २७ हजार २ सय ३६ जनाको आवेदन परेकोमा ५ जनाको आवेदन रद्द भएको छ । शेयर पाउन योग्य रहेका २७ हजार २ सय ३१ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ। जस अनुसार गोलाप्रथाबाट १४ हजार ६ सय २५ जना आवेदनले २० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा शेयर पाउन योग्य रहेका १२ हजार ६ सय ६ जना आवेदक हात खाली भएका छन् ।
आईपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, मेरोशेयरको वेबसाइट र सिडीएसले आईपीओ नतिजा हेर्न संचालनमा ल्याएको वेबसाइटबाट हेर्न सकिन्छ ।
कम्पनीले साउन ४ देखि साउन १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपिओ बिक्री खुला गरेको थियो। कम्पनीले प्रति कित्ता ५० रुपैयाँ मै आईपिओ निष्काशन गरेको थियो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ९२ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो ।