काठमाडौं ! हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओमा आवेदन दिने आज साउन १८ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपिओ बिक्री खुला गरेको हो।
कम्पनीले प्रति कित्ता ५० रुपैयाँ मै आईपिओ निष्काशन गरेको हो । यस संगै हाथवे प्रति कित्ता ५० रुपैयाँमा आईपिओ निष्काशन गर्ने पहिलो कम्पनी बनेको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ९२ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको हो । यस निष्काशनमा साउन १८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम २० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । २० कित्ताभन्दा बढीको आवेदन दिन चाहेमा २० अंकको गुणाङ्कको आधारमा दिनु पर्ने छ । शेयर बाँडफाँड गर्दा पनि न्युनतम २० कित्ता नै बाँडफाँड हुने छ। य्द्यै सबै आवेदकलाई न्युनतम २० कितात शेयर बाँडफाँड गर्न नपुग्ने भएमा गोलाप्रथाबाट शेयर बाँडफाँड हुने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको शेयर बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । कम्पनीले सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्ने छ ।
नेपाल धितोपत्र बोर्डले असार १७ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले आफ्नो शेयरको प्रति कित्ता अंकित मूल्य ५० रुपैयाँ कायम गरेको छ । सोहि कारण कम्पनीको आईपिओ प्रति कित्ता ५० रुपैयाँ मै आएको हो । कम्पनीले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य ५० रुपैयाँले हुने १४ करोड ६२ लाख ५० हजार बराबरको २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्ने छ। कम्पनीले आफ्नो कुल पुंजीको १२.५० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीको जारी पुंजी १ अर्ब १७ करोड रहेको छ । आईपिओ निष्काशनपछि कम्पनी चुक्ता पुंजी १ अर्ब १७ करोड पुग्ने छ ।
हाल नेपाली बजारमा सोल्टी होटेल लिमिटेडले प्रति कित्ता १० रुपैयाँ अंकित मूल्य कायम गरेर शेयर निष्काशन गरेको थियो। सोल्टी होटेल बाहेक सबै कम्पनीले प्रति कित्ता १०० रुपैयाँ कायम गरेर शेयर निष्काशन गरेका थिए। हाथवे प्रति कित्ता ५० रुपैयाँमा शेयर निष्काशन गर्ने पहिलो कम्पनी बन्ने भएको हो ।
यस कम्पनीले शेयर बजारमा लगानी गर्दै आएको छ । यस कम्पनीको संस्थापकहरुमा आईएमई समुहमा आवद्द व्यक्तिहरु रहेका छन् । कम्पनीको ३०.१ प्रतिष शेयर हेमराज ढकालसंग रहेको छ । उनी आईएमई ग्रुपको को-फाउण्डर तथा म्यानेजिङ डाइरेक्टर हुन् । त्यस्तै कम्पनीको २८.१ प्रतिशत शेयर एसआर हाइड्रो एण्ड इन्भेष्टमेन्ट प्रालिसंग रहेको छ । ८.७ प्रतिशत शेयर अम्बिका प्रसाद पौडेलसंग रहको छ भने ५.७ प्रतिशत शेयर निमिषा इन्भेष्टमेन्ट प्रालिसंग रहेको छ ।