काठमाडौं ! रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलले आज अपरान्ह शेयर बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार आईपिओमा कुल २७ हजार १ सय ४८ जनाको आवेदन परेको थियो । जस मध्ये २७ हजार १ सय ४४ जनाको मात्र आवेदन भेरिफई भएको क्यापिटलले जनाएको छ । आवेदन दिएका सबैले शेयर पाएका छन् ।
बाँडफाँड मोडल अनुसार ५० कित्तासम्मको लागि आवेदन दिने १० हजार ९ सय ९९ जनले माग गरे बमोजिम कै शेयर पाएका छन् । ६० कित्ता देखि ५४ सय कितातसम्मको लागि आवेदन दिने १६ हजार १ सय ४५ जनाले पनि ५० कित्ता कै दरले शेयर पाएका छन् । त्यस्तै ६० देखि ५४ सय कित्तासम्मको लागि आवेदन दिने मध्ये बाट गोलाप्रथा गरेर ८ हजार ४ सय २९ जनाले थप १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले अधिकतम ६० कित्ता शेयर पाएका छन् ।
कम्पनीले असार २७ देखि साउन १० गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १२ लाख कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २५७ रुपैयाँमा शेयर निष्काशन गरेको हो ।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएसंगै अब कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन हुने छ ।