स्थानीयले घोराही सिमेन्टको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं ! घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज जेठ १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख १९ गतेदेखि आईपिओ निष्काशन गरेको थियो।

कम्पनीले दाङ र रोल्पाका जिल्लाका स्थानीयलाई ३ लाख ९७ हजार १ सय ९० कित्ता निष्काशन गरेको छ । यस निष्काशनमा दाङ जिल्लाको घोराही उपमहानगरपालिकाको वडा नम्बर १,२,३,४,१४,१५,१७,१८,र १९ , बंगलाचुली गाउपालिकाको वडा नम्बर ३ र ४, र रोल्पाको त्रिवेणी गाउपालिकाको वडा नम्बर ३ र ४ का स्थानीयले आवेदन दिन सक्ने छन्  ।

स्थानीयलाई अंकित मूल्य १०० रुपैयामा ३०० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ४०० रुपैयाँमा शेयर निष्काशन गरिएको हो  । स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन्  ।  शेयर निष्काशनको लागि हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ। स्थानीयलाई निष्काशन गरेको शेयर बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने छ  ।

घोराही सिमेन्ट इन्डस्ट्रि पश्चिम नेपालको सवै भन्दा ठुलो सिमेन्ट उद्योग हो। बिसं २०६४ सालमा दर्ता भई वि.सं २०६९ साल देखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरि व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रबिधि प्रयोग गरि सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ ।

त्रिवेणी र बिशाल समूह बाट संयुक्त रुपमा प्रबर्धित घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड, क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोश्रो उद्योग मध्ये पर्दछ। हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्ड अन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्रि वितरण गरिरहेको छ ।

यस सँगै घोराही सिमेन्ट आईपिओ निष्काशन गर्ने दोस्रो सिमेन्ट कम्पनी हुने छ । हाल शिवम सिमेन्ट मात्र आईपिओ निष्काशन गरेर नेप्सेमा सुचिकृत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *