काठमाडौं ! मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आज माघ १५ गतेदेखि पहिलो चरणको आईपिओ बिक्रि खुला गरेको छ। कम्पनीले दोलखा जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई आज माघ १५ गतेदेखि आईपिओ खुला गरेको हो।
कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ७ लाख ६० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये आयोजनाको अति प्रभावित क्षेत्र दोलखाको गैरिशंकर गाउँपालिकाको वडा नम्बर ५ र ६ का स्थानीयलाई ३ लाख ४ हजार कित्ता शेयर छुट्याईएको छ । त्यस्तै प्रभावित क्षेत्र गौरीशंकर गाउपालिकाको वडा नम्बर १,२,३,४,७,८ र ९ का स्थानीयलाई ३ लाख ४२ हजार कित्ता शेयर छुट्याईएको छ । र सामान्य प्रभावित क्षेत्र दोलखा जिल्लाको बिगु गाउँपालिकाको सम्पूर्ण वडाका स्थानीयलाई १ लाख १४ हजार कित्ता शेयर छुट्याईएको छ । त्यस्तै १ लाख ५२ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि निष्काशन हुने छ ।
स्थानीयलाई निष्काशन गरिएको शेयरमा छिटोमा माघ २९ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा फागुन १५ गतेसम्म आवेदन दिन सकिने छ ।श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई छुट्याईएको शेयरमा माघ २९ गतेसम्म मात्र आवेदन दिन सकिने छ। स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ता शेयरको लागि आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकले भने न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ । कम्पनीको दोलखामा ६.४ मेगावाटको सुरिखोला जलविद्युत आयोजना र ७ मेगावाटको माथिल्लो सुरिखोला जलविद्युत आयोजना छ । ६.४ मेगावाटको सुरिखोला जलविद्युत आयोजनाले २०७९ बैशाख १८ गतेबाट व्यापरिक उत्पादन सुरु गरिसकेको छ । ७ मेगावाटको माथिल्लो सुरिखोला आयोजनाको ब्यापर्तिक उत्पादन सुरु गर्नु पर्ने मिति २०७९ चैत्र ३० गते रहेको छ ।