काठमाडौं ! प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशको राजधानी विराटनगरमा आज (बिहीबार)देखि सुरु हुने २ दिने ‘कोशी लगानी सम्मेलन’को उद्घाटन गर्दैछन्।
वीरेन्द्र सभागृहमा सुरु हुने सम्मेलनको उद्घाटन बिहान ११ बजे गर्ने तयारी छ। सम्मेलन शुक्रबारसम्म चल्ने छ। सम्मेलनले लगानीको वातावरण बनाउँदै प्रदेशमा समृद्धिको ढोका खोल्ने अपेक्षा गरिएको कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए। प्रदेश सरकारले पहिलोपटक आयोजना गर्न लागेको सम्मेलनले उद्योगी व्यवसायीसमेतका निजी क्षेत्र र सरोकारवालालाई उत्साहित बनाएको उनको भनाइ छ।
प्राकृतिक सम्पदा, उत्पादन, आय र रोजगारीका असीमित सम्भावना तथा रणनीतिक अवस्थितिका कारण कोशी प्रदेशलाई नेपालकै अर्थतन्त्रको मेरुदण्डका रूपमा हेर्न गरिएको छ। अग्लो सगरमाथादेखि होचो केचनासम्म रहेको प्रदेशमा सम्मेलनले कृषि, पर्यटन, जलविद्युत् र औद्योगिक विकासका क्षेत्रमा लगानीको वातावरण तयार पर्ने मुख्यमन्त्री कार्कीले बताए।
सम्मेलनबाट १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरको लगानी भित्रिने अपेक्षा गरिएको छ। जसका लागि ७१ वटा परियोजनाहरू ‘सोकेसिङ’ गरिएको छ। कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, सूचना प्रविधिलगायतका क्षेत्रका परियोजना ‘सोकेसिङ’ गरिने भएपछि निजी क्षेत्र उत्साहित बनेको छ।
सम्मेलनका अवसरमा प्रदेशमा लगानीमैत्री वातावरण र ३ तहका सरकारहरू बीचको अन्तरसम्बन्धका विषयमा विज्ञहरू तथा जनप्रतिनिधिहरूबाट धारणा प्रस्तुत हुने जनाइएको छ। लगानीको सम्भावना प्रचुर रहेको कोशी प्रदेशको समृद्धि र विकासका लागि सम्मेलन ऐतिहासिक एवं उपलब्धिमूलक हुने देखिएको छ।