इरानद्वारा इजरायलमा आक्रमण

काठमाडौं ! इरानले इजरायलमाथि ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै आक्रमण गरेको छ। इजरेली सेनाका अनुसार तेहरानले इजरेलतर्फ दुई सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेकामा ती धेरैजसोलाई निस्तेज पारिएको छ।मानिसहरूले जेरुसेलम र अन्य स्थानहरूका आकाशमा विस्फोटनको आवाज सुनेको बताएका छन्।

इरानको रिभोल्युशनरी गार्डस्‌ले एक विज्ञप्तिमार्फत ती हमलालाई “इजरेली अपराध”को जबाफ बताएको छ। जसमा उसले एप्रिलको सुरुमा सिरियास्थिति इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको हमलालाई समेत उल्लेख गरेको छ।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इजरेलले दिने जबाफबारे छलफल गर्न ‘वार क्याबिनेट’को बैठक बोलाएका छन्। उनले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गरेका छन्।

यसअघि इजरेल डिफेन्स फोर्सेस आईडिएफले तेहरानले “अवस्थालाई थप चर्काउन खोजेकाले नतिजा” झेल्नुपर्ने चेतावनी दिएको थियो।इरानले आफूले थप हमलाहरू नगर्ने भन्दै इजरेली जबाफ वा अमेरिकाको अन्य कुनै संलग्नताविरुद्ध चेतावनी दिएको छ।

इरानको रिभोल्युशनरी गार्डस्‌ले आफ्ना हमलाहरू “निश्चित निशानाहरूमा” लक्षित गरिएको जनाएको छ। इजरेलले हमलाहरू अझै नरोकिएको जनाएको छ।

इजरेली सेनाले दक्षिणी इजरेलको एक सैन्य शिविरमा सामान्य क्षति भएको जनाएको छ। एम्बुलेन्स सेवाले विस्फोटनका क्रममा खसेको टुक्रा लागेर एक जना दश वर्षीया बालिका घाइते भएको जनाएको छ। एउटा पछिल्लो विज्ञप्तिमा आइडिएफले धेरैजसो हमलालाई आफ्नो “एरो” हवाई प्रतिरक्षा प्रणाली र उक्त क्षेत्रमा रहेका आफ्ना रणनीतिक साझेदारहरूसँगको साथमा इजरेली भूमि पार गर्नु अगावै निस्तेज पारिएको जनाएको छ। आइडिएफ प्रवक्ताले केही इरानी क्षेप्यास्त्र इजरेलमा खस्दा एक सैन्य केन्द्रमा थोरै क्षति भएको बताए तापनि त्यसबारे थप खुलाएनन्। इजरेलको हवाई प्रतिरक्षा प्रणालीले आकाशमा क्षेप्यास्त्रहरू रहेको थाहा पाएपछि जेरुसेलममा साइरनहरू बजेका थिए।

अमेरिकी राष्ट्रपति जो बाइडन सप्ताहन्तको बिदा छोट्याउँदै आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार र मन्त्रीहरूलाई भेट्न ह्वाइट हाउस फर्केका छन्।