भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतका विदेश सचिव विनयमोहन क्वात्रा आज नेपाल भ्रमणमा आउँदै छन्।

उनले फागुन १ देखि २ गते (फेब्रुअरी १३ देखि १४ तारिख)सम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेश सचिव क्वात्रा आज बिहान काठमाडौँ आइपुग्ने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

भ्रमणका क्रममा सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नेछन् ।

सो अवसरमा उनीहरुबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो ।

दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारत र नेपालबीच सभ्यतागत एवं ऐतिहासिक सम्बन्ध रहेको छ ।

यसबीच भारतको सहयोगमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टिभिटी परियोजनाले दुई देशबीचको द्विपक्षीय सहकार्य झन् बलियो भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *