अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सीबीच वार्ता हुँदै

काठमाडौँ । ताइवानलाई लिएर अमेरिका र चीनबीच तनाव बढिरहँदा दुवै देशका राष्ट्रपतिबीच बिहीबार वार्ता हुँदै छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच चार महिनापछि वार्ता हुन लागेको हो ।

बिहीबारको हुन लागेको वार्ता लामो समयदेखिको योजनाबद्धरुपमा नियमित छलफल हो । पहिलेदेखि नै द्वन्द्वमा अल्झिएको चीन अमेरिका सम्बन्धमा सभामुख नेन्सी पेलोसीको सम्भावित ताइवान भ्रमणले त्यसलाई अझ जटिल बनाएको बेला यो वार्ता हुन लागेको हो ।

बाइडेन र सीबीचको वार्तामा उत्तर कोरियाको आणविक कार्य, युक्रेनमा रूसको युद्धका विषयमा बेइजिङ र वासिङटनबीचको मतभेद, इरान आणविक सम्झौतालाई पुनर्जीवन दिने प्रयास र ट्रम्प प्रशासनले चीनमा लगाएको कठोर करको अमेरिकी प्रशासनको समीक्षाको स्थितिलगायतका विषयमा पनि छलफल हुनसक्ने बताइएको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले मंगलबार भने, ‘यस सम्बन्धमा हामीबीच यस्ता विषयहरू छन् जहाँ हामी सहयोग सम्भव छ भन्ने विश्वास गर्छौं । उदाहरणका लागि हामीलाई धेरै असर गर्ने जलवायु परिवर्तन साथै तनावका विषयहरू पनि छन् ।’ यदि पेलोसीले चीनले दाबी गरेको स्वशासित ताइवान द्वीपमा भ्रमण गरेमा यसविरूद्ध ‘सशक्त कदम’ चाल्ने बेइजिङले बताएको छ।

ब्लूमबर्गले सार्वजनिक गरेको भ्रमण कार्यक्रमबारे अमेरिकी अधिकारीले सार्वजनिक घोषणाअघि नै जानकारी गराउन अस्वीकार गरे । पेलोसीले ताइवान भ्रमण गर्ने योजनाको आफैले पनि पुष्टि गरेकी छैनन् । तर, गत हप्ता अमेरिकी सैनिक अधिकारीहरूले सभामुख पेलोसीका लागि ताइवान भ्रमणका लागि उपयुक्त समय नभएकोे बताएका राष्ट्रपति बाइडेनले उल्लेख गरेका थिए ।

गत हप्ता फाइनान्सियल टाइम्सले पेलोसीले अगस्तमा ताइवान भ्रमण गर्ने योजना बनाएको रिपोर्ट सार्वजनिक गरेको थियो । ताइवानको यात्रा उनले सुरुमा अप्रिलमा गर्ने योजना बनाएकी थिइन् तर कोभिड-१९ बाट सङ्क्रमित भएपछि उनले यसलाई स्थगित गरेकी बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *