अर्थतन्त्र चौपट भएपछि श्रीलंका अस्तव्यस्त : लगाइयो संकटकाल

काठमाडौँ । श्रीलंकामा यतिखेर विदेशी मुद्राको चरम अभावले अर्थतन्त्र चौपट परेको छ । सोही संकटका कारण त्यहाँ अहिले देशव्यापी ‘संकटकाल’ घोषणा गरिएको छ ।

विदेशी मुद्राको चरम अभावका कारण त्यहाँको महंगी असाध्यै बढेको छ । साथै इन्धन र बिजुलीबत्तीको समेत अभाव भएपछि नागरिकहरु समेत आन्दोलित भएका छन् । सरकारले आजदेखि लागू हुने गरी देशैभरि संकटकाल घोषणा गरेको छ ।

महंगी, अभाव र अस्तव्यस्तता बढेपछि श्रीलंकामा हिंसात्मक आन्दोलन चर्किएको छ । त्यहाँ इन्धन, कागज, औषधि तथा अत्यावश्यक खानेकुरा समेतको अभाव भएको छ । कागज अभावकै कारण त्यहाँ लाखौँ विद्यार्थीको परीक्षा रोकिएको छ । विदेशबाट आयात हुने वस्तुहरुका लागि विदेशी मुद्रा अभाव भएपछि त्यहाँको अर्थतन्त्रमा संकट आएको हो ।

यस्तो संकटले नागरिकस्तरमा सरकारप्रति आक्रोश बढ्दै गएको छ । बिहीबार राजधानी कोलम्बोस्थित राष्ट्रपति गोताबाया राजापाक्षको निवास नजिकै उनीहरुले विरोध प्रदर्शन गरेका थिए । शुक्रबार समेत प्रदर्शन जारी थियो । तर प्रहरीले कैयौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । सो प्रदर्शनका क्रममा झडपहरु भएका छन् ।

संकटकाल घोषणा भएसँगै अब हिंसात्मक प्रदर्शनमा संलग्न जोकोहीलाई वारेन्टविना नै पक्राउ गर्न आदेश भएको बिबिसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *