नेपालको कूटनीतिक सम्बन्ध दक्षिण सुडानसँग पनि गाँसियाे

काठमाडाैँ । नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच साेमबार कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १७५ पुगेको छ ।

द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र दक्षिण सुडानका राजदूत अकुएई बोना मालवालले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा सोमबार आयोजित संक्षिप्त समारोहमा हस्ताक्षर गर्नुभयो ।

दुवै राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाबारे जानकारी गराउने संयुक्त पत्रमा पनि हस्ताक्षर गर्नुभएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

त्यस अवसरमा दुवै राजदूतले राष्ट्रिय तथा बहुपक्षीय परिवेशमा विशेषगरी संयुक्त राष्ट्रसङ्घका मञ्चहरूमा दुई देशको आपसी हितका लागि द्विपक्षीय सहयोगलाई सुदृढ पार्न साझा हितका विभिन्न विषयमा विचार आदान–प्रदान गर्नुभएको थियो । उहाँहरूले दक्षिण सुडानको चलिरहेको शान्ति प्रक्रियाको सन्दर्भमा द्वन्द्वबाट शान्तितर्फको सङ्क्रमणकाललाई कसरी सफल बनाउन सकिन्छ भन्नेबारे पनि छलफल गर्नुभएको थियो ।

राजदूत राईले दक्षिण सुडानमा शान्ति स्थापना गर्न स्वदेशमा भएको शान्ति प्रक्रियामा आफ्नो अनुभव साझा गर्न नेपाल इच्छुक रहेको बताउनुभएको थियो । नेपालले दक्षिण सुडानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति कार्यका लागि एक हजार ८०० नेपाली शान्ति सैनिक तैनाथ गरी दक्षिण सुडानको शान्ति र स्थायित्वका लागि योगदान पु¥याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *