चीनका विदेशमन्त्री आज नेपाल भ्रमणमा आउनु हुँदै

काठमाडौं । चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपालको औपचारिक भ्रमणका लागि आज (शुक्रबार) काठमाडौं आउँदै हुनुहुन्छ । उहाँ भारत हुँदै आज काठमाडौं आउन लाग्नुभएको हो ।

नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछि आउने उहाँ पहिलो उच्चस्तरीय पाहुना हुनुहुन्छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा आउन लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल बसाइको क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा,प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री खड्का र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
भेटवार्ताको क्रममा चीनले अघि सारेको पूर्वाधार विकास परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ अन्तर्गत सहयोगका परियोजना कार्यान्वयनका विषयमा केन्द्रित रहेर विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग नेपालले छलफल गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *