युक्रेन–रुसबीच शान्तिवार्ताका लागि ठाउँ तयार : बेलारुस

एजेन्सी ! बेलारुसले युक्रेन र रुसका प्रतिनिधिमण्डलको वार्ताका लागि ठाउँ तयार भएको जनाएको छ । युक्रेनमाथि रुसले युद्धको सुरु गरेको पाँचौँ दिन पुग्दा बेलारुसले वार्ताका लागि ठाउँ तयार भएको बताएको बीबीसीले जनाएको छ ।

वार्ताका लागि युक्रेन र बेलारुसको सीमा नजिक ठाउँ तयार गरिएको छ । युक्रेन आफ्ना राजदूतलाई त्यहाँ पठाउन तयार भएको छ ।

यसैबीच बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले रुसलाई सघाउन आफ्नो सेना पठाउने निर्णय गर्नुभएको रिपोर्टहरूमा भनिएको छ । यस्तो अवस्थामा पनि युक्रेन आफ्ना प्रतिनिधिमण्डल वार्ताका लागि पठाउन तयार छ ।

बेलारुसको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा रुस र युक्रेनको झन्डासहित रहेको बैठक कक्षको फोटो सार्वजनिक गर्दै लेखेको छ, ‘रुस र युक्रेनको वार्ताका लागि बेलारुसमा ठाउँ तयार छ । प्रतिनिधिमण्डल आउँदै छन् ।’

बेलारुसको विदेश मन्त्रालयका प्रवक्ता ऐनातोली ग्लेजले वार्ता स्थलमा प्रतिनिधिमण्डल पुग्नेबित्तिकै वार्ता सुरु हुने बताउनुभएको छ ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलिदिमिर जेलन्स्कीले यस वार्ताबाट कुनै समाधान निस्किने आशा नरहेको बताउनुभएको छ । ‘सधैँजस्तै मलाई यो वार्ताबाट कुनै आशा छैन तर उनीहरूलाई कोसिस गर्न दिन्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *