रुसको आक्रमण रोक्ने युक्रेनको रणनीति : सेना परिचालनको आदेश, १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने

काठमाडौं ! युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले  देशमा सेनाको परिचालनको आदेश दिनुभएको छ ।  रुससँग भइरहेको युद्धको अवस्थामा राष्ट्रपति जेलेन्सकीले  आम रूपमा सेना परिचालनको आदेश दिनुभएको हो।

एक भिडियो सन्देशमार्फत उहाँले जगेडामा राखिएका सेनालाई काममा बोलाइएको तथा १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने बताउनु भएको छ । युक्रेनको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको रक्षा गर्ने बेला आएको जनाएको छ ।

युक्रेनको सेनाका अनुसार रुसले राजधानी किभ घेर्ने अनि ब्ल्याक सीको तटसम्म पुग्ने बाटो सुरक्षित गर्ने रणनीति बनाएको छ । युक्रेनको सेनाले रुसी आक्रमणको जवाफमा आक्रमण गरिरहेको बताएको बीबीसीले जनाएको छ । रुसी आक्रमणको पहिलो दिन हजारौँ युक्रेनी नागरिक घर छाडेर सुरक्षित ठाउँमा पुगेका छन् ।

रात्रिकालीन कर्फ्यु लगाइएको राजधानी किभमा कयौँ नागरिक मेट्रो स्टेसनमा पुगेका छन् । बम आक्रमणबाट जोगिने आश्रय स्थलका रूपमा प्रयोग गर्नका लागि मेट्रो स्टेसन खुला राखिएको छ । आक्रमण फैलिँदै गएको अवस्थामा युक्रेनका छिमेकी राष्ट्रहरूले ठूलो सङ्ख्यामा आफ्नो देशमा शरणार्थीलाई ठाउँ उपलब्ध गराउने तयारी पनि थालेका खबरमा उल्लेख गरिएको छ । युरोपेली सङ्घका शीर्ष नेतृत्वकर्ताहरूले रुसमाथि थप प्रतिबन्ध लगाउने विषयमा सहमति जनाएका छन् ।

रुसले आक्रमण गरेको पहिलो दिन हिजो युक्रेनमा १ सय ३७ जनाको ज्यान गएको त्यहाँका राष्ट्रपति जेलेन्सकीले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *