उद्योगीहरुलाई लाग्यो निर्वाचन : वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत गराउन ढकालको पहल

काठमाडौं ! नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुलाई निर्वाचनले छोएको छ। यसै सन्दर्भमा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघमा सर्वसम्मत नेतृत्वको लागि पहल थालेका छन् ।  महासंघको वरिष्ठ उपाध्यक्षमा ३ जनाको उम्मेदवारी परेपछि उनले सर्वसम्मत नेतृत्वको लागि पहल गरेका हुन् । उनले यस्तो प्रयास बुधबारबाट सुरु गरेका हुन् ।

आगामी चैत २८ र २९ गते हुने ५७औँ वार्षिक साधारण सभापछि अध्यक्ष बन्न लागेका ढकालले  वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरु रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठलाई बोलाएर सहमतिको लागि प्रयास गरेका हुन् । बुधबार काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालयमा उनले वरिष्ठ उपाध्यक्षका तीनजना उम्मेदवारलाई एकै ठाउँमा राखेर सर्वसम्मत नेतृत्वको लागि प्रयास थालेका हुन् ।

महासंघलाई सबै उद्योगी व्यवसायीको साझा प्लेटफर्म बनाउनुपर्छ भन्ने आफ्नो धारणा रहेको उल्लेख गर्दै ढकालले महासंघमा सकेसम्म सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने परम्परा बसालौ भनेर छलफल गरेको बताए ।  महासंघका ७ वटै प्रदेशको निर्वाचन सकिएको र सबै प्रदेशमा अधिकांश पदहरुमा सर्वसम्मत नेतृत्व निर्वाचित पनि भएकोले केन्द्रमा सहमति गरेर राम्रो संस्कारको विकास गर्न खोजेको उनले बताए ।

उनले अहिले मुलुकको अर्थतन्त्र र व्यवसायीहरु समस्यामा रहेको बताउँदै यस्तो अवस्थामा निजी क्षेत्रबीच एकता र सहमतिको झनै ठूलो महत्त्व रहने बताए । उनले भने ‘हामी एक भयौं भने मात्र निजी क्षेत्र बलियो हुन्छ । हाम्रो महत्त्व बढ्छ । हाम्रा माग सम्बोधन गराउन सकिन्छ । अहिलेको अवस्थामा झन् हामी एक हुनुको विकल्प छैन’।

निजी क्षेत्रलाई चौतर्फी संकटले घेरिरहेको अवस्थामा विभाजन हुन नहुने भएकोले एकता र सहकार्यबाट समाधान खोज्न आग्रह गरेको उनले बताए। अहिलेको विधानमा रहेको ३ वर्षे कार्यकालको व्यवस्थालाई २ वर्षमा झारेर अहिलेको दुई कार्यकालमै तीनै जना उम्मेदवार मिलाउन सकिने विकल्प समेत दिएको उनले उल्लेख गरेका छन् । वरिष्ठ उपाध्यक्ष ढकालले उक्त प्रयास थालेपनि उनीहरु सहमतिमा नआएको स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *